तपाईँ सुन्दै हुनुहुन्छः

नेपालीबीचको हार्दिकता र सौहार्द सम्बन्धलाई थप सुदृढ तुल्याउन भूमिका खेल्नुस् : मन्त्री जोशी

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सामाजिक सहिष्णुताका साथ नेपालीबीचको हार्दिकता र सौहार्द सम्बन्धलाई थप सुदृढ तुल्याउन संवैधानिक आयोगका पदाधिकारीले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समन्वय गर्ने आयोगका अध्यक्षसहितका पदाधिकारीसँगको छलफलमा उहाँले राजनीतिक अस्थिरतासँग जोडिएर आएका  विविध खाले गुनासालाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । मन्त्री जोशीले भन्नुभयो, “संवैधानिक आयोग आफैँमा स्वतन्त्र छन् । आयोगले आफ्नो विषय क्षेत्रमा रहेका समुदायका अपेक्षा सम्बोधनलाई प्राथमिकतामा राख्नुपर्छ । आयोगको क्षमतालाई थप प्रभावकारी बनाउन जरुरी छ ।” 

त्यसअवसरमा आयोगका अध्यक्ष एवम् पदाधिकारीले सामाजिक न्यायका विषयमा गरेका काम र दिएका सुझावलाई राज्यले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । 

 राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बजेट र साधन स्रोतको सीमितताका बीच थुप्रै काम भए पनि राज्यले त्यसको सम्मान गर्न नसकेको गुनासो गर्नुभयो । 

राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगका वार्षिक प्रतिवेदन संसद्मा छलफल गराउन तथा दिएका सुझाव कार्यान्वयन गर्न सरकारलाई सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो “बजेट अभावका कारण आयोगले आवश्यक काम पनि गर्न सकेको छैन । लक्षित समुदायलाई सशक्तिकरण र क्षमता अभिवृद्धिका लागि बजेट छैन । प्रदेश तहमा आयोगका सम्पर्क कार्यालय नहुँदा काम गर्न सकिएको छैन । त्यसैले आयोगलाई हौसल्ला बढाउने काम राज्यबाट हुनुपर्छ ।” 

त्यस्तै, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले सरकारका संयन्त्र र  आयोगबीच समन्वय तथा सहकार्यको अभाव रहेको बताउनुभयो ।  उहाँले आदिवासी जनजातिको हक अधिकार र ज्ञान प्रवर्द्धनमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ शाहले जातजाति र समुदाय विशेषको हक अधिकार र संस्कृतिको जर्गेनाका लागि आयोगबाट महत्वपूर्ण काम भइरहेको जानकारी दिनुभयो । 

त्यसैगरी थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु समुदायमा ठूलो स्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल एनिमिया रोगको प्रभावकारी उपचारमा ध्यान पुर्‍याउन आग्रह गर्नुभयो । उहाँले सङ्घीय निजामती ऐन जारी नहुँदा राज्यका निकायमा आफ्नो समुदायको प्रवेशमा परेको कठिनाइबारे  मन्त्रालयलाई जानकारी गराउनुभयो ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आर्थिक र जनशक्तिको अभावमा आयोगहरू सञ्चालन गर्न कठिनाइ परेको हुँदा राज्यलाई बलियो बनाउने हो भने विभिन्न जातजाति र समुदायलाई माथि उठाउने कार्यक्रम ल्याउनुपर्छ भन्नुभयो । 

मन्त्रालयका सचिव मुकुन्द निरौलाले आगामी दिनमा मन्त्रालयले आवश्यक समन्वय र सहकार्य गरी आयोगका कामकारबाहीलाई नियमित र प्रभावकारी तुल्याउन कोसिस गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पछिल्लो समय विभिन्न आयोगका पहल र प्रयासमा लोक सेवाका परीक्षामा समावेशी र समानुपातिक प्रतिनिधित्वको नतिजा राम्रो देखिएको बताउनुभयो ।

त्यस अवसरमा आयोगका सचिवहरूबाट आ–आफ्ना आयोगबाट भएका कार्यप्रगति, समस्या र भावी कार्यदिशासम्बन्धी प्रस्तुति भएको थियो । उहाँहरूले आयोगका फरक भूगोल र बेग्ला–बेग्लै खाले कार्य जिम्मेवारी भएकाले कानुन निर्माणमा त्यस कुरालाई विचार गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button