तपाईँ सुन्दै हुनुहुन्छः

कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गर्न मदन–आश्रितको योगदान अतुलनीय: अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बेला त्यसलाई पुनर्जागरण गर्न जननेता मदन भण्डारी र सङ्गठन जीवराज आश्रितको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

एकतीसौँ मदन–आश्रित स्मृतिमा विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले स्वदेशी क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमको रूपमा जनताको बहुदलीय जनवाद (जबज) प्रतिपादन गरेर भण्डारीले विश्वभर रक्षात्मक अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई नेपालमा सर्वाधिक लोकप्रिय बनाउन योगदान पुर्याएको उल्लेख गर्नुभयो ।

कुशल सङ्गठन कमरेड जीवराज आश्रितले पनि पार्टीको विधान, विधि, सिद्धान्त, नीति र आदर्शअनुरूप सङ्गठन निर्माणमा अतुलनीय भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो  । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज, जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा परी रहस्यमय निधन भएको ३१ वर्ष पूरा भएको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सिद्धान्तकार, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको नेतृत्वकर्ता भण्डारी र कुशल सङ्गठन आश्रितप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष नेपालले शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट मुलुकको सामाजिक आर्थिक रूपान्तरण गर्न तथा सामाजिक न्याय र लोकतान्त्रिक मूल्यसहितको समाजवादको आधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले जनताले सङ्घर्ष गरेर स्थापित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने र नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जनको दिशामा धकेल्ने प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्दै विद्रोहमार्फत कम्युनिष्ट पार्टी पुनः गठन गरी नेकपा (एकीकृत समाजवादी) गठन गरेको प्रष्ट पार्नुभयो ।

समाजमा भएका विभेद, कुरीति, शोषण, दमन र निरङ्कुशतासँग जुधेर लोकतन्त्रका मूल्यमान्यता स्थापित गर्न पार्टी प्रतिबद्ध रहेको बताउँदै पार्टी संरचना र पार्टी आबद्ध जनसङ्गठनलाई सामाजिक आर्थिक रूपान्तरण र आर्थिक समृद्धिको कार्यदिशा अनुकूल व्यवस्थित गर्न तथा सम्बन्धित भौगोलिक क्षेत्र र समुदायको सरोकारका सामाजिक आर्थिक मुद्दाहरू, विकास निर्माण तथा उत्पादनसँग जोडिएका विषयलाई समेट्नुपर्ने उल्लेख गर्नुभयो ।

आर्थिक उत्पादनका ठोस योजना बनाउन र जनतालाई गोलबन्द गर्दै नेपालमा समाजवादको नयाँ मोडेल निर्माण गर्न पार्टीको सही कदमले नै कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button