तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय योजना आयोगद्वारा १६औँ पञ्चवर्षीय योजना सार्वजनिक

काठमाडौँ । राष्ट्रिय योजना आयोगले हिजो बसेको मन्त्रीपरिषद् बैठकबाट पारित १६औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ।

योजनाका प्रमुख अन्तर्वस्तु सार्वजनिक गर्न आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले १६ औँ पञ्च वर्षीय योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य लक्ष्य बनाएको जानकारी गराउनुभयो । 

पत्रकार सम्मेलनमा उपाध्यक्ष श्रेष्ठले विगतका योजना कार्यान्वयन र अबको विकासको बाटोलाई मध्यनजर गरी योजनामा उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखिएको बताउनुभयो । 

रूपान्तरणकारी ठूला योजनालाई अघि सारिएको जानकारी गराउँदै उपाध्यक्ष क्षेष्ठले कार्यान्वयनको विद्यमान अवस्था, समस्या र चुनौतीलाई सामना गर्ने गरी योजना ल्याइएको जानकारी दिनुभयो । 

आयोगका निमित्त सचिव यमलाल भुषालले कोभिड १९ को महामारीका बीच १५औँ योजनाले आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न नसकेको बताउँदै १६ औँ योजनाले आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । 

पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको १६ औँ पञ्चवर्षीय योजनामा आर्थिक वर्ष २०८५/८६ सम्म प्रति व्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्‍याउने र नेपालको कुल गार्हस्थ्य उत्पादन एक  सय खर्ब रुपैयाँभन्दा माथि पुर्‍याउने लक्ष्य लिएको छ। 

२०८५/८६ मा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य १६औँ योजनाले लिएको छ । यस्तै गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १२ प्रतिशतमा झार्ने, नेपालीहरूको औसत आयु ७३ वर्षमा झार्ने,  साक्षरता दर ८५ प्रतिशत पुर्‍याउने र मुलुकमा बेरोजगारी दर ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य १६ औँ योजनाले लिएको छ ।

यस्तै विद्युत् उत्पादन ११ हजार ७ सय ६९ मेगावाट र विद्युत् पहुँच शतप्रतिशत जनसङ्ख्यामा पुर्‍याउने र इन्टरनेट ९० प्रतिशत जनसङ्ख्यामा पुर्‍याउने लक्ष्य लिएको छ ।

सरकारले योजना आयोगको ६७ वर्षको इतिहासमा  ५ वटा त्रिवर्षीय र १० वटा पञ्चवर्षीय योजना बनाएर कार्यान्वयन गरिसकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button