राप्ती नदीमा पुल निर्माण कार्य तीव्र गतिमा

बाँके । हुलाकी सडकअन्तर्गत राप्ती नदीमा सात सय मिटर लामो पुलको निर्माण तीव्र गतिमा भई रहेको छ ।
सम्झौता भएको ५३ महिनामा निर्माण सक्ने गरी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीले पुल बनाउन सुरु गरेको हो । सिधनियाघाटमा रहेको पुल साँघुरो र छोटो भएकाले नयाँ पुल निर्माण गर्न लागिएको हो । हाल सञ्चालनमा रहेको पुल एउटा गाडी मात्र ओहोरदोहोर गर्न मिल्ने खालको छ ।

०८४ असार मसान्तमा सम्पन्न गर्ने गरी ०७९ माघमा सम्झौता भएको निर्माण कम्पनीका इन्जिनियर राजेश पटेलले जानकारी दिनु भयो । ‘अहिले निर्माण भइरहेको पुल सात सय मिटर लम्बाइ र ११ मिटर चौडा छ,’ उहाँले भन्नुभयो, ‘दुवैतर्फ १.७५ मिटर फुटपाथ निर्माण गरिनेछ ।’ भ्याटसहित एक अर्ब १९ करोडमा पुलको काम भइरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘पाइलिङ गरी जाली हाल्ने काम भइरहेको छ, ।’
पटेलले तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिनु भयो । लामो पुल नहुँदा राप्ती नदीमा आएको बाढीले सडक बगाउँदा गर्मी र हिउँदमा समेत आउजाउ गर्न समस्या हुने गरेको छ ।

बाढी बग्ने ठाउँमा सडक भएकाले हरेक वर्ष आउने बाढीले सडकका साथै कल्भर्टसमेत बगाउने गरेको छ । ‘बाढीले सडक र कल्भर्ट बगाउँदा हिउँद र गर्मीयाममा समेत समस्या छ,’ नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले भन्नु भयो,‘पुल बन्न थालेपछि आउजाउ गर्न सहज हुने आशा पलाएको छ ।’







प्रतिक्रिया राख्नुहोस्