कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी

बाजुरा। बाजुरा जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी रहेका छन् ।
आवश्यक भौतिक पूर्वाधार नहुँदा बाजुरा कारागारका कैदीबन्दी कष्टकर जीवन बिताउन बाध्य बनेका हुन् । २५ जनाको क्षमता भएको जीर्ण कारागार भवनमा ७२ जना कैदी बन्दी राखिएको छ । क्षमता भन्दा बढी कैदीबन्दी हुँदा खान,खेल्न र शौचालय प्रयोगमा समेत समस्या भएको कैदीबन्दीहरुको भनाइ छ।
२०३७ सालमा बनेको बाजुरा कारागार जीर्ण बनेको भए पनि मर्मतको पहल कतैबाट हुन सकेको छैन । बाजुरा कारागार कार्यालय बाजुराका जेलर प्रदीप साउदले जीर्ण र अपुग भवनमा आफूहरूलाई निकै असहज जीवन बिताइरहनु परेको बताउनुभयो ।
कारागार बाजुराको क्षमता २५ जनाको मात्र हो । अहिले कारागारमा ४६ जना कैदी २३ जना थुनुवा ३ जना थप जिल्ला बाहिरबाट ल्याएर ७२ जना बसोबास गर्दै आएका छन् ।क्षमता भन्दाबढी कैदी र थुनुवा राखेपछि अहिले जेलरहरूलाई सुत्न त के बस्नलाई पनि निकै समस्या भएको छ । जेलर साउदका अनुसार एक खाटमा पाँच, देखि ६ जना सम्म सुत्नुपर्ने अवस्था रहेको छ। प्रशासन भवन भाडामा लगिएको छ, भने सुरक्षाका लागि खटिएका प्रहरी बस्ने भवन पनि जीर्ण बन्दै गएको छ ।
बर्खाको समयमा सुरक्षाकर्मी हरुले समेत घरहरूको छतमा त्रिपाल राखेर बस्नुपर्ने अवस्था छ । बस्नका लागि कोठाको व्यवस्थापन नहुँदा रातभर जागराम बसेर रात बिताउने गरेको कैदी बन्दीहरूको भनाइ छ ।

२०३७ सालमा बनेको बाजुरा कारागार कार्यालय पुनर्निर्माण हुन सकेको छैन । कारागार प्रशासनका अनुसार उक्त भवनमा हाल कर्तव्य ज्यान मुद्दामा ११ जना कैदी र १४ थुनुवा गरी २५ जना कर्तव्य ज्यान मुद्दाका रहेका छन् ।त्यस्तै जबर्जस्ती करणी मुद्दामा १३ कैदी र ४ थुनुवा गरी १७ जना रहेका छन् भने ज्यान मार्ने उद्योगमा एक, ओसार–पसार मुद्दामा थुनुवा एक, लागुऔषध मुद्दामा थुनुवा दुई र बालविवाह मुद्दामा एक जना, सवारी ज्यान मुद्दाका २ जना जबरजस्ती करणी ३ जना, लागु औषध २ जना, जक कर्तव्य ज्यान उद्योगमा १ जना, गर्भ संरक्षण उद्योगमा १ जना, हाड नाता करणीमा २ जना, ज्यान मार्ने उद्योगमा १ जना,। मानव ओसारपसारमा १ जना, बहुविवाह मुद्दामा कैदी २ र थुनुवा २ गरि ४ जना, हात हतियार सम्बन्धी कसुरमा ५ जना र आत्महत्या दुरुत्साहन मुद्दामा १ जना गरी ७९ जना कैदी बन्दी रहेको कारागार प्रशासनले जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्