गुल्मीदरबारमा बनेको १५ शय्याको अस्पताल अलपत्र

गुल्मी । गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको अस्पताल भवन अलपत्र परेको छ । निर्माण व्यवसायीले गत असारमा भवन निर्माणको काम सम्पन्न गरेपनि भवन प्रयोगमा नआउँदा अलपत्र परेको हो ।
गुल्मीदरबार गाउँपालिकामा अस्पताल भवन निर्माण गरेको रकम निर्माण व्यवसायीले नपाउँदा भवन प्रयोगमा आउन सकेको छैन । गाउँपालिकाको वडा नम्बर–३ को धुरेलडाँडामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न भएको हो । घर छेउमा अस्पताल बन्ला सुविधा लिन पाइएला भनेर जग्गा उपलब्ध गराए स्थानीयलाई अस्पताल सञ्चालनमा आउन नसक्दा चिन्तित बनेका छन् ।

साढे पाँच तलको भवन निर्माणको काम रङ्गा रोगन गरेर चिटिक्क पारिएको छ । भवन २०७८ साल असार २५ गते सम्झौता भई २०८० असारमा तोकिएकै मितिमा निर्माण व्यवसायीले सम्पन्न गरेको थिए । १२ करोड ९४लाख ५६ हजार ९१३ रुपैयाँको लागतमा अर्जुन बिल्र्डस प्रालि तम्घासले भवन निर्माण गरेको हो । निर्माण व्यवसायीले २ करोड ७ लाख रकम अझै पाएका छैनन् । जसले गर्दा अस्पताल भवन अहिले ताल्चा मारेर राखिएको छ । निर्माण सम्पन्न भएको भवनको एक वर्षसम्म सञ्चालनमा नआउँदा केही ठाउँमा भत्किन र घाँसले घेर्न थालेको छ । भवनको रकम निकासा गर्नका लागि पालिकाबाट पटक पटक जानकारी गराउने काम भइरहेको गुल्मी दरबार गाउँपालिकाले जनाएको छ ।

नेपाल सरकारले २०७७ साल मङ्सिर १५ देशभर रहेका स्थानीय तहमा अस्पताल निर्माण गर्न एकै पटक शिलान्यास गरेको थियो । तर जिल्लाका अन्य स्थानीय तहमा भने अस्पताल निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । गाउँपालिकामा निर्माण भएका अत्याधुनिक अस्पताल भवनहरूमा तोकिए अनुसारका सेवा सुविधा सहितका डाक्टरहरू उपलब्ध नभए ठूला भवनले कुनै अर्थ राख्ने छैन । अहिले पनि दुर्गम गाउँवस्तीमा विशेषज्ञ डाक्टरहरू जान र बस्न नमान्ने समस्या रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्