काँसको ढकिया र थाकलको पातबाट ब्याग बनाएर आत्मनिर्भर बन्दै एकल महिलाहरू

बाँके । नेपालगन्ज नगरभित्रका एकल महिलाहरूमा काँसको ढकिया र थाकलको पातबाट ब्याग बनाउने आर्कषण बढ्दै गएको छ ।
सरिता चौधरीले काँसको ढकिया र थाकलको पातबाट ब्याग बनाएर आयआर्जन गर्न सकिने बताउनु भयो । उहाँले भन्नु भयो,‘तालिममा सहभागी हुन पाउँदा हामी निकै खुसी छौँ । सात दिनको अवधिमा हामीले धेरै कुरा सिक्ने अवसर पायौँ । व्यावसायिक रुपमा बजारमा प्रतिस्पर्धा गर्न, बजारको माग अनुसार सामान उत्पादन गर्न अझै सिक्न जरुरी छ ।’
काँसको ढकिया र थाकलको पातबाट ब्याग बनाउने तालिममा सहभागी महिलाहरूले आत्मनिर्भर बन्नको लागि महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा वैशाख १६ देखि २३ गते सम्म सञ्चालन भएको तालिममा २० जना भन्दा बढी महिलाहरूको सहभागिता रहेको थियो । एक साता सम्म तालिमका सहभागीहरूलाई काँसको ढकिया र धाकलको पातबाट ब्याग बनाउन सिकाइएको थियो ।

तालिममा सहभागी राधा महताराले घरमा बसेर पनि रोजगारीको अवसर सृजना गर्न सकिने भएकोले तालिम प्रभावकारी भएको बताउनु भयो । स्थानीय स्तरको स्रोत, साधान र वस्तुको प्रयोग गरेर सामान उत्पादन हुँदा नयाँ सम्भावनाको विकास गर्न तालिम सहयोगी बनेको उहाँले बताउनु भयो ।
महिलाहरूलाई उद्यमसँग जोडनको लागि यस्तो तालिम प्रभावकारी हुने भएकोले अन्य वडासँगको सहकार्यमा संयुक्त रुपमा आयोजना गरिनुपर्ने नेपालगन्ज उप महानगरपालिका वडा नम्बर २ अध्यक्ष मनोज श्रेष्ठले बताउनु भयो । उहाँले भन्नु भयो,‘समय छोटो हो । यसमा दुई मत छैन । वडाले यस्ता अन्य तालिम गरिरहेको छ । बजारको माग बढ्ने हो भने तालिम अवधि बढाउन सकिन्छ । आर्थिक रुपमा संकट भएको बेला सिपमूलक तालिम आवश्यक छ । रोजगारको अभाव भएको बेला महिलाको जनजीवनलाई आर्थिक रुपमा सहज बनाउन तालिम महत्त्वपूर्ण बन्न सक्छ ।’ महिलाहरूलाई उद्यमी बनाउने उद्देश्यले नेपालगन्जको कोसेली घरमा भएको काँसको ढकिया र थाकलको पत्ताबाट झोला बनाउने सिपमूलक तालिम प्रभावकारी भएको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

ढकियाको आकार र प्रयोग गर्ने तरिका अनुसार दौरा, दौरी, मौनी र ढकिया भन्ने गरिन्छ । पहिले कपडा राख्ने बाकसको काम पनि यसैगरी बुनेका सामग्रीले पूरा गर्ने प्रशिक्षक अन्जली चौधरी सम्झन्छन् । बजारमा थारु समुदायका यस्ता पुराना सामग्रीको माग बढ्दै गएको छ । अरू समुदायले पनि किन्ने गर्दा आर्जनको राम्रो स्रोत हुन थालेको छ । तालिममा आएकी नेपालगन्ज–१ की राधा महतराले यस्ता सामग्री बेच्ने गर्छिन् । ‘साना ठूला ढकिया, ब्याग र पेन होल्डरको राम्रो माग छ,।’
तालिमकी मुख्य प्रशिक्षक श्री चौधरीले बाँकेमा पाँच ६ वर्षअघि नै यस्ता सामग्री उत्पादन र बिक्री गर्दै आएको बताउनु भयो । नेपालमा मात्रै नभएर थारु र नेपाली बस्ने विदेशका ठाउँमा पनि यस्ता सामग्रीको माग हुने गरेको चौधरी बताउनु भयो । उहाँले भन्नुभयो थारु समुदाय सँगै मधेशी समुदायमा पनि पछिल्लो समयमा आकर्षण बढ्दै गएको छ ।
आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेतले महिलाहरूलाई सक्षम उद्यमी बनेर आफ्नो स्वपहिचान बनाउन तालिमले सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नु भयो,‘बजारमा धेरै माग बढेकोले तालिम गरेको हौँ । नव उद्यमी उत्पादन गर्नको लागि तालिम सहयोगी बनेको छ । एकल महिलाहरूलाई नव उद्यमी बनाउने हाम्रो लक्ष्य थियो । त्यसमा अन्य महिलालाई सहभागी गराएका छौँ ।’

तालिम लिएका महिलाहरूलाई उद्यमी बन्नको लागी सङ्घले उत्प्रेरित गर्ने अध्यक्ष बस्नेत ले बताउनु भयो । उहाँले भन्नु भयो, ‘सहभागीहरूले तालिमको समय बढाउन माग गर्नु भएको छ । यो उत्कृष्ट कार्यक्रम हो । अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसारको वस्तु उत्पादन गर्नको लागि अझै १५ दिन समय लाग्छ । त्यसपछि उहाँहरू नयाँ उद्योगी बन्न सक्नुहुनेछ । विश्व बजारमा यस्ता समानको माग भएकोले सम्भावनाहरू धेरै छन् । हामीले कोशिली घर मार्फत बजारीकरणमा सहयोग गर्नेछौँ ।’
महिला उद्यमी संघ नेपाल बाँके सचिव नितु चन्दले एकल महिलाहरूको नेतृत्व विकास गर्दै उद्यमी बन्न तालिम उपलब्धिमूलक बनेको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्