बिद्युत् सेवा अनियमित हुँदा सेवाग्राही मर्कामा
बैतडी । बिगत केही दिनदेखि बिद्युत् सेवा अनियमित हुँदा बैतडीका सेवाग्राही मर्कामा परेको छन् ।
सामान्य हावाहुरी र पानी पर्दा समेत बिद्युत् अवरुद्ध हुने गरेकाले उपभोक्ताहरू मर्कामा परेका हुन ।
विगत ३ दिनदेखि दैनिक ५ देखि ६ घण्टासम्म बिद्युत् अवरुद्ध हुने गरेकाले बैतडीमा प्रसारणमा रहेका एफ.एम.रेडियो स्टेशन समेत प्रभावित भएका छन् ।
डडेल्धुरा, बैतडी लगायतका जिल्लाहरूमा विद्युत् सेवा भरपर्दो नहुँदा रेडियो नेपाल एफ.एम.प्रसारण केन्द्र खोड्पेको प्रसारण सेवा समेत प्रभावित भइरहेको छ ।
हावाहुरी र चट्याङका कारण विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइल चार्ज गर्न समेत समस्या भइरहेको छ भने इमेल इन्टरनेट सेवा समेत सञ्चालन हुन नसकेको नेपाल पत्रकार महासङ्घ बैतडीका उपाध्यक्ष नरी वडुले बताउनुभयो ।
बिद्युत् अवरुद्ध हुँदा सरकारी कार्यालयले अनलाइन सेवामार्फत सेवा दिइराखेका सेवाहरू समेत प्रभावित भई सेवाग्राहीले सानोतिनो कामका लागि समेत बास बस्न पर्ने अवस्था आएको पाटन नगरपालिका वडा नं. ७ का हरिदत्त भट्टले बताउनुभयो ।
विद्युत् सेवा सुचारुका लागि नेपाल विद्युत् प्राधिकरण पाटन वितरण केन्द्रमा सम्पर्क गर्दा डडेल्धुराको बाग बजारदेखि बैतडीको गोठालापानीमा मात्र सवस्टेशन रहेको र पाटनमा निर्माण भइरहेको सवस्टेशन अधुरो रहँदा प्रसारण लाइन लामो भई हावाहुरीका कारण अवरुद्ध हुने गरेको केन्द्रका प्रमुख केशव सिंह ऐरले बताउनुभयो ।
उहाँले विद्युत् करेन्ट बढी भएको र थप सवस्टेशन नभएका कारण समेत पटक पटक विद्युत् अवरुद्ध हुने गरेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्