तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा बोधनी माविमा जातीय र सांस्कृतिक पोशाक लगाउने अभियान 

नवलपुर । नवलपरासी पूर्व (नवलपुरको) हुप्सेकोट–४ शंखदेवमा रहेको शिक्षा बोधनी माध्यमिक विद्यालयले प्रत्येक महिनाको मसान्तको दिन जातीय र सांस्कृतिक पोशाक लगाउने अभियान सुरुआत गरेको छ । 

विद्यालयले आजबाट उक्त अभियान सुरु गरेको हो । 

विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक समेतले प्रत्येक महिनाको मसान्तमा आ–आफ्नो जातीय पोशाकमा विद्यालय आउने अभियान सुरु गरेको शिक्षक कृष्ण न्यौपानेले जानकारी दिनुभयो । आफ्नो मौलिक पहिचान र संस्कृतिलाई संरक्षण गर्न र त्यसका बारेमा विद्यार्थीलाई जानकारी दिन यो अभियान सुरु गरिएको शिक्षक न्यौपानेले बताउनुभयो । 

पछिल्लो समय बाह्य संस्कृतिको सिको गर्ने प्रचलन बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न र विद्यार्थीहरूले आफ्नै कला संस्कृति र आफ्नै जातीय पहिचानका पोसाकलाई महत्व दिउन भन्ने उद्देश्यले यो अभियान सुरु गरेको शिक्षक न्यौपानेले बताउनुभयो । 

ग्रामीण बस्तीमा रहेको विद्यालय र विभिन्न जातजातिका समुदाय बसोबास गर्ने भएकाले पनि यो अभियानबाट कला संस्कृति संरक्षणमा टेवा पुग्ने आशा लिएको उहाँले बताउनुभयो । 

उहाँले सामाजिक विषयको पाठ्यक्रममै जात, धर्म, संस्कार, संस्कृति, बाजागाजा र पोसाकको पढाइ हुने भएकाले यी विषयहरूको व्यावहारिक ज्ञान दिन यो अभियानले मदत गर्ने बताउनुभयो ।

यस विद्यालयमा ४ सय विद्यार्थी अध्ययनरत छन् । यहाँ ब्राह्मण, मगर र दलित समुदायका विद्यार्थीहरूको सङ्ख्या धेरै रहेको छ । भने केही गुरुङ, क्षेत्री, तामाङ लगायतका अन्य जातजातिका पनि अध्ययन गर्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button