उद्योग समिति बैठक: दुर्गम क्षेत्रमा गरिएको सेवा प्रवाहका सम्बन्धमा छलफल

काठमाडौँ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले हालसम्म गरेका कामकारबाही एवं दुर्गम क्षेत्रमा गरिएको सेवा प्रवाहका सम्बन्धमा छलफल गरेको छ ।
सिंहदरबारस्थित समितिमा भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ लगायतका संस्था एवं निजी क्षेत्रबाट बिक्री-वितरण हुने खाद्य वस्तुको गुणस्तरमा मन्त्रालयले सधैँ खबरदारी गर्ने बताउनुभयो ।
मन्त्री भण्डारीले दैनिक उपभोग्य चिनी, नुन, तेल जस्ता अत्यावश्यक वस्तुको सहजताका लागि मन्त्रालयले कार्ययोजना बनाएको र चाडपर्वमा कृत्रिम अभाव सृजना हुन नदिन खाद्य संस्थान, साल्ट ट्रेडिङ जस्ता संस्थानहरूले आवश्यक मात्र समयमै भण्डारण गर्ने बताउनुभयो ।
बैठकमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका कार्यकारी प्रमुख उर्मिला श्रेष्ठले नेपालमा आवश्यक पर्ने नुन ६ महिनालाई मौज्दात भएको र १७ हिमाली पहाडी दुर्गम जिल्लाको ६१ स्थानमा नुन वितरण हुने जानकारी दिनुभयो ।
छलफलमा सांसदहरुले २ पोका नुन किन्न दुर्गम जिल्लामा दुई दिन हिँड्नुपर्ने बाध्यता भएकाले नुनको मात्रा बढाएर दिनुपर्ने, पालिका स्तरमा नुनको डिपो राख्नुपर्ने, चाडबाडमा हुने अभावलाई ध्यानमा राखेर अहिलेदेखिनै नुन तथा चिनीको भण्डारण गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्