तपाईँ सुन्दै हुनुहुन्छः

जल सम्पदा रेडियो कार्यक्रम प्रसारण हुने

सुर्खेत । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतबाट जल सम्पदा रेडियो कार्यक्रम प्रसारण हुने भएको छ ।

 रेडियो नेपाल सुर्खेत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतको सहकार्यमा रेडियो कार्यक्रम उत्पादन र प्रसारण हुने भएको हो । मन्त्रालयबाट जलस्रोत, ऊर्जा तथा सिँचाइका क्षेत्रमा भएका गतिविधि तथा खानेपानी र सरसफाई सम्बन्धि जनचेतनामूलक सामग्री प्रसारण गर्ने मुख्य उद्देश्यले सञ्चालन गर्न लागिएको कार्यक्रम प्रसारण सम्बन्धी दुईपक्षिय सम्झौता भएको हो । आज मन्त्रालयका सचिव नविनचन्द्र अधिकारी र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका कार्यालय प्रमुख आनन्द विश्व पन्तले सम्झौता पत्र आदानप्रदान गर्नुभयो । साप्ताहिक रुपमा प्रसारण हुने जल सम्पदा कार्यक्रम अब प्रत्येक शनिबार बेलुकी ५ः४५ बजेदेखि ६ः०० बजेसम्म रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतबाट प्रसारण हुनेछ । 

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका सूचनामूलक गतिविधिका साथै मुख्य रुपमा कर्णाली प्रदेशमा स्वच्छ खानेपानीको पहुँच तथा सरसफाइको अवस्था, खानेपानीजन्य रोग नियन्त्रण, न्यूनीकरणका उपाय र अपनाउनुपर्ने सावधानी लगायतका विषयमा प्रभावकारी सामग्री संयोजन गरी कार्यक्रम उत्पादन गर्न मन्त्रालयका सचिव नविनचन्द्र अधिकारीले सुझाव दिनुभयो ।

मन्त्रालयसँग नियमित समन्वय गरी निर्धारित विषयबस्तुहरुलाई प्रसारण गर्न प्रतिबद्ध रहने बिचार ब्यक्त गर्दै आगामी आर्थिक वर्षमा पनि रेडियो नेपाल र मन्त्रालय बीचको सहकार्य निरन्तर रहने विश्वास ब्यक्त गर्नुभयो । जल सम्पदा कार्यक्रम विगत तीन आर्थिक वर्षदेखी रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतबाट प्रसारण सुरु गरिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button