भरतपुर अस्पतालमा भोलिबाट ब्लड बैङ्क सञ्चालनमा आउँदै

चितवन । केन्द्रिय अस्पतालको रुपमा स्थापना भएको भरतपुर अस्पतालले ब्लड बैङ्क (रक्तसञ्चार केन्द्र) सञ्चालनमा ल्याउने भएको छ ।
अस्पतालमा आउने बिरामीलाई रगत अभावलाई सहज रुपमा पूर्ति गर्ने उद्देश्यसहित अस्पतालले ब्लड बैङ्क सञ्चालन गर्न लागेको हो । जेठ १ गतेबाट नियमित सञ्चालन गर्ने गरी तयारी गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा श्रीराम तिवारीले हरेक बर्ष अस्पतालमा रगतको अभाव हुँदै आएको बताउंँदैे अस्पतालमा आउने बिरामीहरूलाई अस्पतालमै रगतको व्यवस्था होस् भन्ने उद्देश्यले ब्लड बैङ्क स्थापना गर्न लागिएको हो । अस्पतालले आइतबार नर्सिङ दिवसको अवसरमा अस्पताल परिसरमा रक्तदान गरेर रगत सङ्कलन गर्ने काम गरेको छ । अस्पतालको ‘बि ब्लक’ को भुईँ तलामा ब्लड बैङ्क रहने मेसु डा तिवारीले जानकारी दिनुभयो । अस्पताल विकास समितिको तर्फबाट बजेटको व्यवस्थापन गरेर ब्लड बैंकका लागि ९० प्रतिशत तयारी पूरा भइसकेको तिवारीले बताउनु भयो । ब्लड बैङ्क सञ्चालनका लागि करिब ३५ लाख रुपैयाँ खर्च भइसकेको उहाँको भनाई छ ।
ब्लड बैङ्कबाट सुरुवाती चरणमा ब्लडको सबै प्रकार दिन नसकिए पनि होल ब्लड लगायतका केही उत्पादन बिरामीलाई दिने गरी तयारी गरिएको छ । ब्लड बैङ्क सञ्चालनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट स्वीकृति लिने क्रममा रहेको उहाँले बताउनु भयो ।
चितवनमा हालसम्म नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्त सञ्चार केन्द्र (ब्लड बैङ्क) बाट मात्रै बिरामीले रगत लिने व्यवस्था रहेको थियो । रेडक्रसको ब्लड बैङ्क पनि भरतपुर अस्पताल परिसरमै छ ।








प्रतिक्रिया राख्नुहोस्