फेवातालमा जलकुम्भी झार सफाई अभियान सुरु

पोखरा । पोखराको फेवातालमा जलकुम्भी झार सफाई अभियान सुरु भएको छ । पोखरा–१८ खपौदी ढल्केबर स्थित फेवातालमा वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा “वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरदारी“ भन्ने मुल नाराका साथ फेवातालको जलकुम्भी झार सफाइ अभियान आइतबारबाट सुरु भएको हो ।
नागरिक महाअभियान कास्कीका संयोजक समेत रहनु भएको राम बहादुर पौडेलको अध्यक्षतामा भएको सफाई अभियानमा सशस्त्र प्रहरी बल कालिका गण मालेपाटन पोखराका गणपति एसपी अरुण पौडेल शर्मा सहितको टोलीले सफाई अभियानको सुरुवात गर्नु भएको हो ।
हरेक बर्ष चैत्रमा हुने उक्त कार्यक्रम विविध कारणले ढिला हुन गएकाले यो बर्ष वैशाखको अन्तिम साता शुरुआत गरिएको संयोजक पौडेलले जनाउनु भयो । शुरुआतका दिनमा सशस्त्र प्रहरी, नेपाली सेना, महानगरीय प्रहरी, स्थानीय आमा समूह, नागरिक समाज, रेवान, सामाजिक सङ्घसंस्था, पत्रकारहरूले सफाइ अभियानमा सहभागी हुनु भएको थियो । भोलि देखि जलारी समुदायले ज्याला सहित जलकुम्भी सरसफाइ अभियानलाई निरन्तरता दिने पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले बताउनु भयो ।
उक्त कार्यक्रममा पोखरा महानगरका वडा नं.६ र १८ का वडाध्यक्ष सहित रेवान, विभिन्न समूहका अभियान्ताहरु, आमा समूहहरू , जलहारी समुदाय, पर्यटन व्यवसायीहरू, सशस्त्र प्रहरीको कालिका गण, नेपाली सेनाको कृष्णदल गण, रणचन्डी गण, पोखरा महानगरको महानगरी प्रहरी लगायत स्थानीय र सञ्चारकर्मी गरि करिब ३०० जनाको सहभागिता रहेको थियो ।
पोखराको फेवातालमा प्रदूषण बढ्दै जाँदा जलकुम्भी झार समेत फैलिँदै जाने हुँदा हिउँदको समय चैतमा सानै बिरुवाकै अवस्थामा फेवातालको मुहानबाट हटाउनुपर्ने विज्ञहरूले बताउँदै आउनु भएको छ । वैशाख, जेठमा उक्त झार बढ्दै जाँदा हटाउन निकै कठिन र धेरै जनशक्ति लाग्ने भएको डुङ्गा व्यवसायीहरू बताउनु हुन्छ ।








प्रतिक्रिया राख्नुहोस्