तपाईँ सुन्दै हुनुहुन्छः

संघीय शिक्षा ऐन तत्काल आवश्यक : मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न संघीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताउनुभएको छ ।

एप्पल इन्टरनेशनल स्कुल तीनकुनेले शनिबार आयोजना गरेको वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह कार्यक्रममा मन्त्री चौधरीले संविधानले शिक्षा क्षेत्र स्थानीयलाई दिएको भन्दै अबको शिक्षण सिकाई बालबालिकामैत्री हुनुपर्ने बताउनुभयो ।

शिक्षण सिकाई अहिलेको समयसापेक्ष र बालबालिका केन्द्रित बनाउन विद्यालय, परिवार, राज्य सबैको भूमिका रहने उहाँले बताउनुभयो । ‘शिक्षण सिकाई बालबालिका केन्द्रित हुनुपर्छ । पाठ्यक्रम त्यसअनुसार बनाउनुपर्छ ।’

सरकारी विद्यालयको स्तर खस्किएको सन्दर्भमा अहिले धेरै गुनासो आएको भन्दै उहाँले विद्यालयमा राजनीतिकरण भएका कारण पनि रूपमा समस्या उत्पन्न भएको हुनसक्ने बताउनुभयो

बच्चालाई राम्रो शिक्षा दिलाउनका निम्ति शिक्षक, विद्यालय र परिवार सबैको महत्त्वपूर्ण भूमिका रहने भन्दै उहाँले बच्चालाई सिकाउने पहिलो विद्यालय आफ्नै घर भएकाले घरमा पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

भोलिका दिनमा देश बनाउने अहिलेका बालबालिकाहरू नै भएको भन्दै मन्त्री चौधरीले अहिले संसद्‍मा शिक्षासँग सम्बन्धित विभिन्न विधेयकहरूमा छलफल भइरहेको जानकारी दिनुभयो ।

विद्यालयका प्रिन्सिपल यमनाथ मैनालीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । त्यस अवसरमा शिक्षा क्षेत्रमा योगदान दिने विभिन्न व्यक्ति तथा शिक्षकहरूलाई सम्मानित गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button