तपाईँ सुन्दै हुनुहुन्छः

विकट गाउँमा स्वास्थ्य सेवा पुगेपछि चेपाङ्ग समुदायमा खुशी 

चितवन । चितवनको विकट कान्दा गाउँमा स्वास्थ्य सेवाको पहुँच पुगेपछि चेपाङ्ग समुदायमा खुशी छाएको छ ।

 २०६७ सालमा चितवनको यही विकट गाउँ कान्दामा ८ जना चेपाङ्ग परिवारले बिषालु च्याउ खाँदा उपचारको अभावमा ज्यान गुमाउनु परेको थियो । अहिले प्राथमिक तहको उपचार सुविधा पाउँदा गाउँलेहरू निकै खुशी भएका हुन् । उनीहरू भन्छन्, ‘सायद अब सामान्य समस्याले उपचार अभावमा मरिँदैन जस्तो लाग्छ ।’ यहाँ बिशेषगरी चेपाङ्ग समुदायको बसोबास छ । 

गाउँमा आधारभूत उपचार सुविधा मात्र आएको छैन, मोटरबाटो पनि नजिक नजिक पुगेको छ । स्थानीय चेकराम प्रजाले भन्नुभयो ,‘गाउँमै स्वास्थ्य चौकी आयो, मोटरबाटोपनि छिटै आउँछ भन्ने विश्वास छ । ’ कान्देश्वरी विद्यालयका व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर प्रजा च्याउ खाएर मृत्यु भएको घटना पछि गाउँमा चेतना र सुविधाहरू बढ्दै गएको बताउनुभयो  । पछिल्लो समय विकाससँगै यस समुदायमा चेतनाको स्तर पनि बढ्दै गएको उहाँको भनाई छ । चौकीमा अमृता चौधरी अहेबका रुपमा कार्यरत हुनुहुन्छ  ।

अहेब अमृता भन्नुहुन्छ‘आधुनिक उपचार विधिबाट टाढा रहेका र सकेसम्म घर गाउँमै प्राकृतिक उपचारमा रमाउनेहरू अहिले खै खै प्रेसर जाँचौँ भन्दै आउनुहुन्छ ।’ गाउँका मानिसहरू बिरामी नै नभएपनि स्वास्थ्य चौकीमा आउने बस्ने, कुराकानी गर्ने, विभिन्न जिज्ञासा राख्ने गर्दा आफूलाई खुशी लाग्ने गरेको उहाँले बताउनु भयो  । यहाँ मासिक एक सय जना जतिले सेवा लिने गरेको उहाँले जानकारी दिनुभयो । यो स्वास्थ्य चौकीमा उपचार नभए ४ घण्टाको दुरीमा रहेको वास वाङ स्वास्थ्य केन्द्र अर्थात् यौरालिटारसम्म जानुपर्ने हुन्छ । राप्ती नगरपालिकाका  प्रमुख शमशेर लामाले स्वास्थ्यको पहुँचबाट दुःखी गरिब वञ्चित नहुने उद्देश्यसहित यस गाउँमा स्वास्थ्य चौकी स्थापना गरिएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button