अछाममा भिडियो एक्सरे सहितको निःशुल्क स्वास्थ्य शिविर

अछाम । भिडियो एक्सरे सहितको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर अछामको रामारोशन गाउँपालिकामा सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामको आयोजनामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
जिल्लाको रामारोशन गाउँपालिका वडा नं ५ मा रहेको श्री निलकण्ठ माध्यमिक विद्यालयमा सञ्चालन भएको आयुर्वेद स्वास्थ्य शिविरमा २ सय ८६ जना महिला र १ सय १५ जना पुरुष गरि ४ सय १ जना सेवाग्राहीले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामले जनाएको छ । जम्मा सेवाग्राही मध्ये ४८ जनाले भिडियो एक्सरे र ७१ जनाले प्रयोगशाला सेवा लिएको बताइएको छ ।
एक दिने स्वास्थ्य शिविरमा भिडियो एक्सरे , प्रयोगशाला तथा स्वास्थ्य परिक्षण गरि औषधि समेत वितरण गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामका कार्यालय प्रमुख दिपक राज पन्तले बताउनुभयो । उक्त शिविरमा दम ,ग्यास्ट्रिक , पायल्स , पत्थरी ,स्त्रीरोग , छाला सम्बन्धि रोगहरू , बाथ रोग ,मूत्र रोग आदि रोगको निः शुल्क उपचार तथा परामर्श गरिएको उहाँले बताउनुभयो ।
आयुर्वेद स्वास्थ्य सेवाको पहुँच बाट टाढा रहेका जनताहरूलाई आयुर्वेदिक चिकित्सा सेवा दिने उद्देश्यका साथ उक्त शिविरको आयोजना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामका कार्यालय प्रमुख पन्तले बताउनुभयो । स्वास्थ्य सेवाको पहुँच बाट टाढा रहेका उक्त वडाका अधिकांश सेवाग्राहीहरूले जिल्लामा औषधि उपचार गर्न जाँदा समय सँगै धेरै पैसा खर्च हुन्थ्यो आफ्नै वडामा निःशुल्क स्वास्थ्य शिविरको आयोजनामा उपचार गर्ने अवसर पाउँदा निकै खुसि लागेको बताउँदै आगामी दिनहरूमा पनि यस्ता सकारात्मक कार्यमा जोड दिन आग्रह गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्