तपाईँ सुन्दै हुनुहुन्छः

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले आगामी आर्थिक वर्षमा ज्येष्ठ नागरिकका निम्ती विशेष कार्यक्रम आउने बताउनुभएको छ ।

समाज कल्याण परिषद् अन्तर्गत रहेको राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज आयोजना गरेको क्यालेन्डर विमोचन तथा समाजसेवी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

कोषका सभापति वसन्तराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री चौधरीले ज्येष्ठ नागरिक हामी सबैको अग्रज, पूजनीय व्यक्तित्व भएको हुनाले उहाँहरूप्रतिको दायित्व सबैले निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री चौधरीले आफ्ना सन्तान हुर्काउँदै गर्दा आफूलाई जन्मदिने मातापितालाई बिर्सन नहुने बताउनुभयो ।

राज्यले ज्येष्ठ नागरिकको सम्मानका निम्ती २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारले वृद्ध भत्ता कार्यक्रम ल्याएको भन्दै उहाँले अहिले त्यही कार्यक्रम नै सामाजिक सुरक्षाका रुपमा वृद्धि हुँदै गएको बताउनुभयो ।

परिवार, समाज, आफन्त र सन्तानबाट अपहेलित, पीडित ज्येष्ठ नागरिकका लागि राज्यले सधैँ अभिभावकत्व ग्रहण गर्ने मन्त्री चौधरीले बताउनुभयो ।

आगामी आर्थिक वर्षमा मन्त्रालयले ज्येष्ठ नागरिक लक्षित गरी दिवा मिलन केन्द्र जस्ता कार्यक्रम ल्याउन लागेको भन्दै मन्त्री चौधरीले त्यसलाई सबै वडाहरूमा विस्तार गर्ने योजना रहेको बताउनुभयो ।

कार्यक्रममा समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले आगामी आर्थिक वर्षमा ज्येष्ठ नागरिकका निम्ति केही नयाँ कार्यक्रम ल्याइने बताउँदै ज्येष्ठ नागरिक सम्मानलाई निरन्तरता दिइने बताउनुभयो ।

त्यस अवसरमा विशिष्ट अतिथि शताब्दी पुरुष डा.गौरीशंकरलाल श्रेष्ठले मन्त्री चौधरीलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि चौधरीले ज्येष्ठ नागरिकको सेवामा समर्पित अगुवाहरू मदन श्रेष्ठ, अहल्या श्रेष्ठ, भरतलाल श्रेष्ठ, श्यामसुन्दर श्रेष्ठ, रञ्जना श्रेष्ठ, विष्णुप्रसाद नेपाल र फोटो पत्रकार श्याम चित्रकारलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा कोषको वार्षिक क्यालेन्डर समेत विमोचन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button