मजदुरी गरेर पढाइ खर्च जुटाउँदै सन्तोष र सृष्टि

बाँके । दैलेखको दुल्लु नगरपालिका वडा नं. ५ घर भई हाल नेपालगंज १ मा बस्दै आउनुभएका १२ बर्षीय सन्तोष खत्री र ९ वर्षीय सृष्टि खत्री धम्बोझी उच्च माध्यमिक विद्यालय नेपालगञ्जमा अध्ययनरत हुनुहुन्छ । हाल सन्तोष कक्षा ८ र सृष्टि कक्षा ६ मा अध्ययन गर्नका लागि विद्यालयमा भर्ना हुनुभएको छ ।
लगनशील, मिहेनती तथा अनुशासित छात्रका रुपमा रहनुभएका सन्तोषले आर्थिक अभावका कारण विद्यालय समयभन्दा बाहिरको समयमा नेपालगञ्जमा ज्याला मजदुरी गर्दै शैक्षिक सामग्री तथा अध्ययन खर्च जुटाउँदै आउनुभएको छ । समय र आवश्यकता अनुसार उहाँ हरेक काममा संलग्न देखिनुहुन्छ । उहाँ कहिले होटलमा भाडा माझ्ने त कहिले अरूको घरमा गएर काममा संलग्न भएको देख्न पाइन्छ ।
उहाँ जस्तै उहाँको बहिनीले यसरी नै कडा परिश्रम गर्दै आफ्नो अध्ययनलाई निरन्तरता दिँदै आउनुभएको छ । सन्तोष खत्रीले भन्नुभयो, “हामी दाजु बहिनी बिदाका बेला नेपालगञ्जमै काम गर्छांै, ।”
उहाँको आमा सरस्वती थापा नेपालगञ्ज कै एक होटलमा काम गर्दै आउनुभएको छ जसका कारण परिवारको आर्थिक समस्या केही हदसम्म हल भएको छ । तर पनि आमाको मासिक तलब मात्र दुई जनालाई पठनपाठनका लागि र घर खर्च चलाउन पर्याप्त नभएपछि आफूहरू ज्याला मजदुरी गरेर पढ्न बाध्य भएको उहाँ सुनाउनुहुन्छ ।
कक्षा ८ मा अध्ययनका लागि भर्ना हुनुभएका सन्तोषले भन्नुभयो, “हामी सानो हुँदा बुबा अर्को श्रीमती लिएर कहाँ जानु भयो हामीलाई नै थाहा छैन । हामीलाई बेसहारा बनाएर बुबा जानुभएपछि आमाले जसोतसो गरेर हामीलाई हुर्काउनुभयो ।”
नेपालगञ्जमा मजदुरी गरेर शैक्षिक सामग्री जुटाउँदै पढ्नुपर्ने आफूहरूको बाध्यता रहेको सुनाउनुहुँदै सन्तोषले भन्नुभयो, “नेपालगञ्जको धम्बोझी उच्च माध्यमिक विद्यालयमा इन्ट्रान्स दिनका लागि प्रति विद्यार्थी दुई सय रुपियाँ बुझाउने पनि पैसा थिएन् तर बढो मुस्किलले त्यो पैसाको जोहो गरेर बुझाए अन्ततः नाम निस्किसकेको छ । अब अध्ययनलाई निरन्तरता दिने चाहना आफूहरूको छ ।”
घरमा आर्थिक अभावका कारण निकै समस्या हुन थालेपछि आमा सरस्वती थापाले लामो समयदेखि नेपालगञ्जमा मजदुरी गरेर परिवार चलाउँदै आउनुभएको छ । एक छोरा र एक छोरीसहित चार जनाको परिवारलाई पेटभरि खान मुस्किल पर्छ जसका कारण सरस्वतीका छोराछोरीको सहजै विद्यालय जाने वातावरण बन्न सकिरहेको छैन ।
गाउँमा अन्य परिवारका आफ्नो उमेरका साथीले गरिबीका कारण पढाइलाई निरन्तरता दिन सकिरहेका छैनन् । कोही कुलतको बाटोमा हिँडिरहेका छन् तर पनि सन्तोष र सृष्टि भने आर्थिक अभावकै बीच मजदुरी गरेरै भएपनि आफ्नो अध्ययनलाई निरन्तरता दिन लागिपरेका छन् । “खाने मुखलाई जुँगाले छेक्दैन’ भने झैँ मन भित्रबाट जागेको पढ्ने उत्साह र चाहनालाई जसरी पनि परिपूर्ति गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् सन्तोष र सृष्टि ।
“आमाले हाम्रा लागि आफ्नो हाडमासु खियाइसक्नुभएको छ अब पनि हामीले दुःख नगरे सन्तान हुनुको अर्थ रहँदैन, त्यसैले हामी पनि सङ्घर्ष गर्छौं, सरकारको मुख ताकेर बस्नु पनि मूर्खता हो,” सन्तोषले भन्नुभयो । तर पनि सरकारले पढ्न चाहने विपन्न बालबालिकाका लागि भर्ना शुल्क र मासिक शुल्क माफ गरिदिन सके आफूहरूलाई थप राहत हुने उहाँ बताउनुहुन्छ ।
काम गरेर पढेको देख्दा कहिलेकाहीँ साथीहरूले होच्याउने गरेको सुनाउनुहुँदै सन्तोष भन्नुहुन्छ, “तर पनि मलाई दुःख लाग्दैन । मान्छे धन, सम्पत्ति र यैस आरामले होइन मिहेनतले ठूलो बन्छ भन्ने हामीले बेझेका छौँ ।” उहाँ भन्नुहुन्छ ।
“आम मान्छेमा जस्तै हामीमा पनि नयाँ सोच, नयाँ चिन्तन र आकाङ्क्षाहरू छन् तर मनभित्र सीमित छन् हाम्रा आकाङ्क्षाहरू । हाम्रा चाहनामा गरिबी तगारो बनेर बाटो छेकिरहेको छ ।” उहाँले भन्नुभयो । सन्तोष कि बहिनी पनि हाल कक्षा ६ मा अध्ययनका लागि भर्ना हुन धम्बोझी स्कुलमा पुग्नुभएको छ तर दैलेखको दुल्लु नगरपालिका वडा नं. ५ ले जन्मदर्तामा सृष्टिको नाम लेख्ने ठाउँमा आमाको नाम लेखिदिएको कारणले स्कुलले जन्मदर्ता नसच्याए भर्ना नलिने बताएपछि परिवार यति बेला तनावमा परेको छ ।
यी बालबालिकाको पिडा देखपछि स्थानीय कमल खत्री, राजीव चौधरी र भरत महतोले १ वर्षका लागि पुग्ने गरी स्टेशनरी, ब्याग, ड्रेस, जुत्ता लगायतको सहयोग गर्ने बताउनुभएपछि सृष्टि र सन्तोष अध्ययन लाई कही राहत पुगेको भन्दै निक्कै सुखी हुनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्