चितवनको पहाडी क्षेत्रमा कफीको बीउ लगाउन सुरु
चितवन । चितवनको पहाडी क्षेत्र राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा कफी खेतीका लागि बीउ राख्न थालिएको छ ।
हावापानीका हिसाबले उपयुक्त हुने देखिएपछि नगरपालिकाले कफी खेती गर्न किसानलाई प्रोत्साहन गरेको छ ।
नगरप्रमुख शमशेर लामाले नगरपालिकाको १०, ११, १२ र १३ नम्बर वडा कफी खेतीका लागि उपयुक्त रहेको पाइएकोले कफीको बीउ रोप्न लगाइएको बताउनुभयो । उहाँका अनुसार ती वडालाई कफी जोन घोषणा गर्ने तयारी भइरहेको छ ।
“आधुनिक कृषिमा जोड दिनुपर्छ भन्ने सोचका साथ राप्तीको पहाडी क्षेत्रमा कफी लगाउन लागिएको छ”, नगर प्रमुख लामाले भन्नुभयो, १०, ११, १२ र १३ नम्बर वडालाई कफी जोन क्षेत्र घोषणा गरिने छ ।”
वैशाखभरिमा पहाडी क्षेत्रका चार वटै वडामा कफीको बीउ राख्ने काम सकिने उहाँले बताउनुभयो । किसानहरूलाई कफी खेती गर्नका लागि प्रोत्साहन गर्न लामा आफै कफीको बीउ लगाउन पुग्नुभएको छ । किसानलाई कफी लगाउन प्रोत्साहन गर्ने बिक्री र बजारीकरणको दायित्व नगरपालिकाले नै लिने उहाँको भनाई छ ।
“किसानलाई कफी फलेपछि कहाँ लगेर बिक्री गर्ने भन्ने समस्या हुँदैन । राप्तीको जति पनि ठाउँमा कफी उत्पादन हुन्छ, त्यसको बिक्रीको ग्यारेन्टी राप्ती नगरपालिकाले गर्नेछ”, उहाँले भन्नुभयो । कफी खेतीका लागि आवश्यक पर्ने बीउ र प्रविधि नगरपालिकाले उपलब्ध गराउने छ । “नगरपालिकाको पहिलो प्रयास हो । कफी खेतीलाई सबै मिलेर सफल बनाऔँ” उहाँले भन्नुभयो ।
प्राविधिकहरूको सुझावका आधारमा कफी खेती गर्न लागिएको हो । कफी बिक्रीका लागि कफी विकास बोर्डसँग समन्वय गरिने उहाँले बताउनुभयो ।
“कफी गाई भैँसी, बाख्रा र बाँदरले पनि नखाने भएकाले पहाडी क्षेत्रमा कफी लगाउँदा उपयुक्त हुने देखियो । पहाडमा धेरै जमिन खाली रहेको अवस्था पनि भएकाले कफी खेती सुरु गर्न लागिएको हो”, उहाँले भन्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्