तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपति यादवद्वारा महावीर जयन्तीको अवसरमा शुभकामना 

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जैन धर्मावलम्बीहरूले मनाउने महावीर जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण जैन समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  

जैन धर्मका २४ औँ तीर्थंकर बन्नुभएका महावीरले मानव जीवनका लागि अपरिहार्य र अनिवार्य ‘पञ्चशील’ को सिद्धान्त प्रतिपादन गर्नुभएको साथै उहाँले मोक्ष प्राप्त गर्न मानिसका लागि दिनुभएको सिद्धान्तहरूलाई अक्षरशः पालना गर्नुपर्ने समेत उपराष्ट्रपति यादवले बताउनुभयो । 

उपराष्ट्रपति यादवले आफू स्वयं सत्य बोल्ने र अरूलाई पनि सत्य बोल्नका लागि उत्प्रेरित गर्ने अवसरका रुपमा पनि महावीर जन्मजयन्तीलाई लिनुपर्ने बताउनुभयो । 

महावीरले सम्पूर्ण विश्वलाई ‘बाँच र बाँच्न देऊ’ को सन्देश दिनुभएको र उहाँका सन्देशहरू वर्तमान परिवेशमा झनै प्रासङ्गिक र उपयोगी भएकोले सबैले यसलाई ग्रहण गर्दै कार्यान्वयनका लागि अग्रसर हुन सक्नु पर्ने बताउनुभयो । 

महावीरले दिनुभएको जीवन–मार्ग–सूत्रहरूलाई पछ्याउँदै अघि बढ्न सके हामी सबै मानवताको सेवा गर्न सफल हुन सक्दछौँ । महावीर जयन्तीले हामी सबैलाई ज्ञानमार्ग, मानव सेवा, अहिंसा तथा सत्यमार्गमा हिँड्न उत्प्रेरित गर्दै समाज र देशमा भाइचारा, बन्धुत्वभाव, मैत्रीभाव, अपनत्वभाव र एकताका लागि दत्तचित्त र सक्रिय भई लाग्न उच्च ऊर्जा प्रदान गरोस् भनी हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button