तपाईँ सुन्दै हुनुहुन्छः

थोपा सिँचाइ गरेर केरा खेतीमा रमाएका दिपेन्द्र

टीकापुर कैलाली । कैलालीको टीकापुरका दिपेन्द्र थारु २०७३ सालदेखि केरा खेतीमा थोपा सिँचाई प्रविधिबाट सिँचाई गरिरहनु भएको छ । २०६९ सालबाट टीकापुर नगरपालिकाको वडा नं ३ रामपुरमा केरा खेती शुरु गर्नु भएका दिपेन्द्रले त्यसको ४ वर्षपछि थोपा सिँचाई प्रविधि जडान गर्नु भएको हो ।

उहाँ केरा खेतीमा थोपा सिँचाई प्रविधि जडान गर्ने कैलालीको पहिलो किसान हुनुहुन्छ । त्यसभन्दा अगाडी कैलालीका केरा खेतीमा थोपा सिँचाई प्रविधि प्रयोगमा आएको थिएन ।
उहाँले सुरुमा नै एकै चोटि १० विगाह क्षेत्रफलमा थोपा सिँचाई प्रविधि जडान गर्नु भएको हो । १५ लाखको लागतमा ८ वर्ष अगाडी जडान गरिएको उक्त प्रविधिले अहिलेसम्म पनि राम्रो काम गरिरहेको छ ।
यसले गर्दा उहाँलाई केरा खेतीमा सिँचाई गर्न सहज भएको छ । दिपेन्द्र भन्नुहुन्छ, ‘पहिले जडान गर्दा खर्चिलो देखिएपनि यसको लागत त एउटै वर्षमा उठिसक्यो । अझै ५÷७ वर्षसम्म यो जडान गरिएको प्रविधि चल्नेमा ढुक्क छु ।’ त्यति वेला नेपालमा थोपा सिँचाई प्रविधिको त्यति विकास भैसकेको थिएन उहाँले भन्नुभयो– ‘भारतको महाराष्ट्र जल गाउँमा रहेको जैन इरिगेशनबाट आफूले केराको बेर्नासहित थोपा सिँचाई प्रविधि ल्याएर जोडेको थिएँ’ ।

केरा बारीमा यसरी थोपा सिँचाई प्रविधि जडान गर्दा आफूलाई सिँचाई गर्न निकै सहज भएको बताउँदै उहाँले यस प्रविधिबाट थोपा सिँचाई मात्र नभई त्यसबाट बिरुवालाई चाहिने मल तथा अन्य पोषक तत्त्व र माटोलाई आवश्यक पर्ने विषादी पनि पठाउन सकिन्छ । त्यसले गर्दा एकातिर सिँचाई गर्न पनि सहज हुने र अर्कोतिर ती अन्य काम गर्नको लागि धेरै जनशक्ति पनि नचाहिने उहाँको भनाई छ ।

उहाँले यो प्रविधिले बारीलाई रोग किराबाट पनि बचाउन सकिने बताउँदै कुलोको पानी लगाउँदा एक स्थानबाट लगाएको पानी बारी भरी नै फैलिन्छ । त्यसले बारीको कुनै एक स्थानमा भएको रोग किरा पानीसँगै अर्को स्थानमा सर्न सक्छ । तर थोपा सिँचाई गर्दा पानी एक स्थानबाट अर्को स्थानमा नजाने भएकाले रोग किरा सर्ने डर पनि कम हुन्छ । अर्को तर्फ बिरुवालाई हालेको मल पनि बगेर जान पाउँदैन । त्यसकारण पनि यो थोपा सिँचाई प्रविधि कृषकका लागि राम्रो भएको दिपेन्द्र बताउनुहुन्छ ।

‘थोपा सिँचाई प्रविधि जडान गर्नु भन्दा अगाडी आफ्नो १० बिगाहाको बारीमा एक पटक सिँचाई गर्न करिब एक हप्ता लाग्ने गर्थ्यो । तर अहिले थोपा सिँचाई प्रविधि जडान गरेपछि २४ घण्टामा पुरै बारीमा एक राउण्ड सिँचाई भइसक्छ । त्यसका लागि पहिलेको जसरी जनशक्ति पनि खट्नु परेन । म आफै पुरै बारीलाई सिँचाई गर्न सक्छु’ उहाँले भन्नुभयो ।

खर्च तथा प्रयोगको दृष्टिकोणबाट थोपा सिँचाई प्रविधि राम्रो भएकाले केरा खेतीमा मात्र नभएर व्यवसायीक रुपमा अन्य तरकारी तथा फलफूल खेती गरेका किसानहरुले पनि अबलम्बन गर्दा राम्रो हुने दिपेन्द्रको सुझाव छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button