नियमित तर्फको एसइई परीक्षा सम्पन्न, प्राविधिकतर्फको चालू
भक्तपुर । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नियमित तर्फको परीक्षा सम्पन्न भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि सञ्चालन गरेको परीक्षाको नियमितमा साधारणतर्फको परीक्षा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।
आजसम्मको परीक्षा देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको र केही छिटफुट घटनाबाहेक अन्य गम्भीर कुनै घटना नभएको उहाँले जानकारी दिनुभयो ।
देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन भएको परीक्षातर्फ प्राविधिक तर्फको परीक्षा र नयाँ पाठ्यक्रमबाट हटाएको तर पुरानो पाठ्यक्रममा रहेको एक विषयको स्तर वृद्धि परीक्षा भने चालू रहेको उहाँले जानकारी दिनुभयो ।
परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “साधारण तर्फको नियमित विषयका परीक्षा आजदेखि सकिएको छ तर प्राविधिक धारतर्फका परीक्षा भने २७ गतेसम्म सञ्चालन हुनेछ, पुरानो पाठ्यक्रममा रहेको स्वास्थ्य जनसङ्ख्या तथा वातावरण विषयको स्तर वृद्धि परीक्षा पनि बाँकी छ, २७ गतेदेखि एसइईका सबै परीक्षा सम्पन्न हुन्छन् ।”
परीक्षा व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउँदै उहाँले परीक्षा अवधिभर देशभरबाट करिब सय जना विद्यार्थी, छ जना केन्द्राध्यक्ष र १६ जना निरीक्षकलाई कारबाही गरी निष्काशन गरेको जानकारी दिनुभयो ।
परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फाराम भरेका थिए । कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ परीक्षार्थी प्राविधिक धारतर्फका रहेका छन् ।
परीक्षा नियन्त्रक पौडेलले परीक्षार्थी कम्तीमा सैद्धान्तिक विषयमा ३५ अङ्क र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने बताउँदै सय पूर्णाङ्क रहेको विषयमा ३५ अङ्क र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने बताउनुभयो । परीक्षा नियन्त्रक पौडेलले ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुन मौका परीक्षामा सहभागी हुनुपर्नेछ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।
विद्यार्थीले तीन पटकसम्म दुई विषयमा स्तर वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।








प्रतिक्रिया राख्नुहोस्