बाली पूजाको लागि प्रख्यात भात खाने डाँडा

बागलुङ । ताराखोला गाउँपालिकाको मुकाम हो भात खाने डाँडा । मानिसहरू भात खाने डाँडाको नाम सुन्दा अचम्म मान्छन् । तर यो डाँडाको आफ्नै कहानी र कथाहरू छन् ।
भातलाई प्रसादको रुपमा खाने यो गाउँका सर्वसाधारणले नै डाँडाको नाम भात खाने डाँडा राखेका हुन् ।
ताराखोलामा हिउँदे बालीको रुपमा जौ, केराउ, गहुँ बाली फल्छ । यहाँको एउटा मान्यता छ, हिउँदे बाली देवीदेवतालाई नचढाई खान मिल्दैन ।
यही डाँडामा रहेका देवी देवतालाई पूजा गरेर सर्वसाधारणले भातलाई प्रसादको रुपमा ग्रहण गर्ने भएकाले नै यो डाँडाको नाम भात खाने डाँडा रहन गएको स्थानीय दिल बहादुर घर्ती बताउनुहुन्छ ।

हरेक वर्ष चैत महिनामा पर्ने मंगलबार भात खाने डाँडामा बाली पूजा हुनेगरेको उहाँ बताउनुहुन्छ । हुन त यो पूजा पालिकाका हरेक वडामा हुने गर्दछ । भात खाने डाँडामा भने चैत महिनाको मंगलबार नै पूजा हुने गर्दछ । बाली पूजा भात खाने डाँडाका लागि महत्वपूर्ण पर्व हो । बाली पूजामा चारवटा देवी देवताको पूजा हुन्छ । पूजा नसकी बारीमा जानेलाई दण्ड जरिवाना गरिन्छ । दण्ड जरिवाना गाउँलेहरूले नै तोक्ने गर्दछन् । बाली पूजामा बिषेशगरी सिद्ध बराहालाई गाईको दूध, धूप र ध्वजाले पूजा गर्ने चलन छ । बलीको रुपमा भेडाको साँड (भाले भेडा) चढाइन्छ । पूजामा एक अविवाहित केटा, पुजारी गरी ७ जनाले पूजा गर्ने प्रचलन छ ।
सिद्ध बराह बाहेकका देउराली देवीलाई थप तीनजना पुजारी र ब्रहाथानलाई थप तीन जना पुजारीले पूजा गर्ने गर्दछन् । यसरी यो पूजामा १३ जना पुजारीले पूजा गर्ने चलन रहेको घर्तीको भनाइ छ ।
। यो पूजा मगर र समुदायले गर्ने गर्छन् । ताराखोलाका विभिन्न स्थानमा पूजा भएपछि मात्रै भात खाने डाँडामा भद्रभलामी जम्मा भएर पर्वको रुपमा बाली पूजा हुने गर्दछ । पूजा सकेपछि मात्रै भात पकाउन पाईने मान्यता छ । सोही भात प्रसादको रुपमा ग्रहण गरेपछि बाली पूजा सकिने लाल बहादुर रोकाले बताउनु भयो ।

यो प्रसाद महिलाहरूलाई खान नदिने प्रचलन छ । यो दिन असिना पानी आएको खण्डमा नराम्रो मानिने चलन छ । पानी मात्र परेमा भने शुभ मानिन्छ । भात खाने डाँडामा प्रसादकोरुपमा भात खाएपछि अनिकालको अन्त्य होस् र सहकालको सुरुवात होस् भनेर सिद्ध थान तिर फर्किएर सुसेली हालेर सह निकाल्ने गरिन्छ ।


प्रतिक्रिया राख्नुहोस्