क्यानडा पठाइदिने भन्दै रु ४० लाख ठगी गर्ने एक जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारका लागि क्यानाडा पठाई दिने भन्दै रु ४० लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ बँेसीगाउँ बस्ने ४१ वर्षीय सुदेश सुनुवार मुखिया रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पीडितबाट रु ४० लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएकामा पीडित मध्येका एक जना लेखनाथ भुर्तेलले जाहेरी दिई अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निज सुदेश सुनुवार मुखियालाई काठमाडौँ बौद्धबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।”
मुखियालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।
यसैगरी, उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न कम्पनीका मोबाइलहरू राजस्व/भन्सार छली चोरी–पैठारी गरी ल्याई बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा राजस्व छलीका मोबाइलसहित एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–२ घरभई हाल ललितपुर महानगरपालिका–८ बालकुमारी बस्ने २२ वर्षीय सरोज योञ्जन रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार ललितपुरको बालकुमारी एरियामा विभिन्न कम्पनीका मोबाइल राजस्व÷भन्सार छली चोरी–पैठारी गरी ल्याई बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लको टोलीले निज योञ्जनले सञ्चालन गरेको ट्रेन्डिङ मोबाइल हबबाट राजस्व छलीका रु १५ लाख मूल्यका ३५ थान मोबाइलसहित निजलाई पक्राउ गरेको हो ।
उक्त कार्यमा संलग्न रहेका योञ्जनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुरमा पठाइएको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्