जनक बुढालाई बझाङ प्रदेश सभा सदस्य (१) उपनिर्वाचनको उम्मेदवार बनाउन सिफारिस

धनगढी । नेकपा (माओवादी केन्द्र)ले बझाङ प्रदेश सभा सदस्य (१)को उपनिर्वाचनमा प्रदेश कमिटी सचिव जनक बुढालाई उम्मेदवार बनाउनका लागि सिफारिस गरेको छ । तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको दुर्घटनामा परि निधन भएपछि बझाङमा आगामी वैशाखमा उपनिर्वाचन हुदैछ ।
आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलले बझाङ प्रदेश सभा सदस्य उपनिर्वाचनको उम्मेदवारका लागी सचिव बुढालाई प्रदेश कमिटीको बैठकले सिफारिस गरेको जानकारी दिनुभयो ।
उहाँले उपनिर्वाचनमा सत्ता गठबन्धन दलहरूका बिच सहमति हुन सक्ने सम्भावना कायमै रहेको बताउनु भयो । अहिले दलहरू उम्मेदवारको घोषणा, सिफारिसको क्रममा रहेको उल्लेख गर्दै उहाँले उपनिर्वाचनमा सत्ता गठबन्धन दलहरू सहमति, सहकार्य गरेर अघि बढ्ने र त्यसो नभए मित्रवत् प्रतिस्पर्धा गरेर चुनावमा जाने बताउनु भयो ।
सञ्चारकर्मीको जिज्ञासामा उपमहासचिव पोखरेलले सुदूरपश्चिम प्रदेश सरकार गठनका लागी नागरिक उन्मुक्ति नयाँ सत्ता समीकरणसँगै आउने विश्वास ब्यक्त गर्नुभयो । प्रदेश मध्यावधि निर्वाचनमा जाने परिस्थितिमा जान हुँदैन भन्नुहुँदै उहाँले प्रदेश सरकार गठनका लागि माओवादी केन्द्र छलफलमा रहेको बताउनु भयो ।
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सह(इन्चार्ज बिना मगर, प्रदेश कमिटी अध्यक्ष हरिराम चौधरी लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्