तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली गीत सङ्गीतको संरक्षण र विस्तारमा रेडियो नेपालको भूमिका महत्वपूर्ण छ : सञ्चार सचिव सुबेदी


काठमाण्डौ । रेडियो नेपालको ७४ औं वार्षिकोत्सवको अवसरमा आज राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिताको आयोजना गरिएको छ ।
सिंहदरबारस्थित रेडियो नेपालको परिसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समिति, रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले नेपाली गीत सङ्गीतको संरक्षण, सम्बद्र्धन र विस्तारमा रेडियो नेपालको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।


सचिव सुवेदीले गीत सङ्गीत राष्ट्रको निधि,व् यक्तिको भावनालाई प्रतिविम्वित गर्ने साधन र समाजको पहिचान गर्ने माध्याम भएकाले गीत सङ्गीतले रेडियो प्रसारणलाई श्रुतिमधुर बनाउने बताउनुभयो
सचिव सुवेदीले राष्ट्रव्यापी आधुनिक सङ्गीत प्रतियोगिताले नेपाली संस्कृति र परम्पराको निरन्तरताका साथै समसामयिक विषयवस्तुलाई उठान गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले नेपाली गीतसङ्गीतको श्रीवृद्धिका लागि रेडियो नेपालले सबै राष्ट्रभाषाका गीत सङ्गीतको रेकर्डिङ्ग, स्वर परीक्षा लिने, श्रेणी निर्धारण, सङ्गीत प्रशिक्षण गर्नुका साथै पुराना गीत र श्रब्य सामग्रीको डिजिटलाइजेशन गरेको बताउनुभयो ।
कार्यकारी निर्देशक केसीले सङ्घीयताको मर्म बमोजिम रेडियो नेपालले सात वटै प्रदेशबाट स्थानीय गीत सङ्गीतका कार्यक्रमलाई प्राथमिकता दिएको र प्रसारित कार्यक्रमहरु ,पुराना र नयाँ गीतहरु, भजनहरु ,रेडियो नेपालको एप ओ.टी.टीमार्फत सुन्न सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक केसीले समाचार र कार्यक्रमका साथै समयानुकूलको प्रविधि र सार्वजनिक प्रसारतर्फ उन्मूख नीतिले आगामी दिनमा रेडियो नेपाल अझ सबल र गीत सङ्गीतको यात्रामा अब्बल हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले धन्यबाद ज्ञापन गर्नुहुँदै रेडियो नेपालले नेपाली गीत सङ्गीत र कलाकारहरुको सम्बन्ध सेतुको रुपमा काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा निर्णायक मण्डलका सदस्य बरिष्ठ गायक तथा सङ्गीतकार मुरलीधरले प्रातियोगितामा अधिकांश गीत सङ्गीतले निराशा र पीडा मात्र देखाएको भन्दै आगामी दिनमा आशा र उर्जा प्रदान गर्ने गीतहरु पनि आउनुपर्ने बताउनुभयो ।

प्रतियोगितामा देशभरीका प्रतियोगीहरुबाट छनौट भएका २१ वटा समूहको सहभागिता रहेको छ ।
रेडियो नेपालले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा शास्त्रीय सङ्गीत सम्मेलन र आधुनिक सङ्गीत प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button