तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती नदीमा छाडियो २० वटा घडियाल गोही 

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन् केन्द्रमा हुर्काइएका २० घडियाल गोही राप्ती नदीमा छाडिएको छ । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी भरतपुर–२२ र २३ को सिमानाबाट गोही नदीमा छाडिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गोही नदीमा छाडेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो  । भरतपुर महानगरका उपप्रमुख चित्र सेन अधिकारीसहित निकुञ्ज र महानगरका कर्मचारी, निजी क्षेत्रका प्रतिनिधि र विदेशी पर्यटकले समेत नदीमा गोही छाड्नु भएको थियो  ।

नगर प्रमुख दाहालले सफा बगेको पानीमा बस्ने र माछा खाने गोहीको संरक्षण चुनौतीपूर्ण रहेको भन्दै गोहीको दिगो संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो  । वर्षामा आउने बाढीले गोहीहरू बगाएर भारत पुर्‍याउने गरेको भन्दै त्यसलाई रोक्न पनि आवश्यक कदम चाल्नुपर्ने बताउनु भयो  ।

भ्रमण वर्षको अवसरमा चितवन राष्ट्रिय निकुञ्जलाई ब्राण्डिङ गर्ने कोसिस भइरहेको भन्दै उहाँले वन्यजन्तुलाई पर्यापर्यटनसँग जोड्न खोजिएको बताउनु भयो  ।

राप्ती नदीमा हालसम्म एक हजार १६२ वटा गोही छाडिसकिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो  । यस्तै  नारायणी नदीमा ४१९ वटा गोही छाडि सकिएको छ ।

यद्यपि निकुञ्जको अनुगमनका क्रममा राप्तीमा तीन भालेसहित १५२ र नारायणीमा तीन भालेसहित ११३ वटा मात्रै घडियाल गोही फेला परेको उनले बताए । गोही प्रजनन् केन्द्रमा ६४८ वटा गोही छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button