तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको नाममा आयो बाँसबारी छाला जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा

काठमाडौँ । बाँसबारी छाला जुत्ता कम्पनीको अतिक्रमण भएको जग्गा सरकारको नाममा ल्याइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत छविलाल नेपालीले अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याइएको जानकारी दिनुभयो  ।

मालपोत अधिकृत नेपालीले चाँदबाग रेसिडेन्सको नाममा रहेको जग्गा अनुसन्धानपछि सरकारकै रहेको ठहर गर्दै निर्णय प्रक्रियाबाट मालपोत ऐनको व्यवस्था अनुसार सरकारको नाममा ल्याइएको बताउनुभयो ।

२०२१ को फिल्ड बुकका आधारमा समेत उक्त जग्गा बाँसबारी जुत्ता कम्पनीको नाममा रहेको देखिएको उहाँले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले व्यक्ति वा संस्थाका नाममा रहेका सरकारी जग्गाहरू क्रमशः राज्यको मातहतमा ल्याइने बताउनुभयो ।

उहाँले जनता र राज्यका पक्षमा काम गर्दा दबाब आउन सक्ने भन्दै कर्मचारीहरूलाई  निर्धक्क भएर काम गर्न निर्देशन पनि दिनुभयो ।

बाँसबारी जुत्ता कम्पनी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button