तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ व्यवसायीद्वारा एक लाख किलो चिया अर्डर

मङ्गलबारे (इलाम) । अनुगमन तथा भ्रमणका लागि यहाँ आएका चिनियाँ चिया व्यवसायीले इलामका विभिन्न चिया उद्योगमा  एक लाख किलोग्रामभन्दा बढी चिया अर्डर गरेका छन् । चिया बगान र उद्योगको भ्रमणपछि उनीहरूले सो बराबरको चिया अर्डर गरेका हुन् । 

इलाम नगरपालिका र इलाम उद्योग वाणिज्य सङ्घसँगको पहलमा केही दिनअघि चिनियाँ चिया व्यवसायी यहाँ आएका थिए । उनीहरुलाई यहाँ ल्याउनका लागि चिया व्यवसायी चिरन दाहालले समन्वय गर्नुभएको थियो । सो अवसरमा चिनियाँ व्यवसायी र यहाँका चिया व्यवसायी तथा किसानबीच चिया खरिद, चीनमा चिया निर्यातको सम्भावनालगायतका विषयमा छलफल भएको दाहालको भनाइ छ । 

चिनियाँ व्यवसायीले चियाबारी र उद्योगको समेत स्थलगत अनुगमन गरेका छन् । सो अवसरमा चिनियाँ व्यवसायीले देउमाई र इलाम नगरपालिकाका विभिन्न चिया उद्योग र चिया किसान भेटघाट गरेका थिए । 

उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष चेतनाथ पौडेल कृष्णले एक महिनाअघि पाँच जना चिनियाँ व्यवसायीले यहाँ आएर अनुगमन गरेको र अहिले सो परिमाणमा चिया अर्डर गरेको बताउनुभयो । चियाको पहिलो टिपाइ सुरु हुनै लाग्दा चीनबाट आएको व्यवसायीको टोलीले अवलोकनपछि चिया अर्डर गरेपछि नयाँ उत्साह प्राप्त भएको उहाँको भनाइ छ । 

इलाम नगरपालिकाले यसअघिदेखि नै यसका लागि पहल गरिरहेको नगरपालिकाका प्रमुख केदार थापाले बताउनुभयो । चिनियाँ व्यवसायीहरूले नेपाली चियाको गुणस्तर निकै राम्रो भएको प्रतिक्रिया दिएका थिए । नेपालमा उत्पादन भएको चिया ८० प्रतिशत भारतमा निर्यात हुने गरेकोमा अब चीनमा पनि निर्यात हुने आशा पलाएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button