तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा प्रहरीद्वारा ६७ लाख बढीको सामानसहित ५ वटा ट्रक नियन्त्रणमा

वीरगंज । पर्सा प्रहरीले ६७ लाख ६१ हजार ५ सय ९४ रुपैयाँ बराबरको अवैध सामानहरू सहित ५ वटा ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र विभिन्न प्रहरी इकाईहरूबाट खटिएको टोलीले मालवाहक ट्रकहरूलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा साथमा रहेको विलविजक शङ्कास्पद देखिएको तथा विलविजक भन्दा बढीका माल बस्तुहरू लोड रहेको भेटिएपछि ६७ लाख ,६१ हजार ५ सय ९४ रुपैयाँ बराबरका  खाद्यान्न, औषधी, विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर पार्टसहरू थप कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी कुमार विक्रम थापाले बताउनु भयो । 

गएराति वीरगंजको घण्टाघर स्थित सडक खण्डबाट चितवन जान लागेको ना.३ ख ७६५६ र प्र.३–०३–००१ ख ००९८ नम्बरको मालवाहक ट्रक चेकजाँच गर्दा विल विजक भन्दा बढी २९ लाख ४८ हजार ४ सय १३ रुपैयाँ बढीको सामान भेटिएको थियो ।

त्यसैगरी गएराति नै वीरगंजबाट काठमाडौँ जाँदै गरेको विआर ०५ जी ९९९२ नम्बरको भारतीय पिकअप गाडीमा अवैध रुपमा भित्र्याइएको कुर्ता सुरवाल १५ लाख ८४ हजार २१ रुपैयाँ बराबरको कुर्ता सुरुवाल भेटिएको प्रहरी प्रवक्ता थापाले बताउनु भयो ।

त्यसैगरी पर्सा प्रहरीले गएराति नै वीरगंजको रजत जयन्ती चोकबाट बेवारिसे अवस्थामा रहेको ४ लाख मूल्य बराबरको हार्डवेयर तथा मोटर्सपार्टस बरामद गरेको छ ।

प्रहरीले आज दिउँसो बीरगंज महानगरपालिका वडा नम्बर ९ रेल्वे रोडबाट ५२ हजार मूल्य बराबरको १० कार्टुन चकलेट बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको प्रवक्ता थापाले बताउनु भयो । 

यसैगरी आज दिउँसो वीरगंजकै गण्डक चोक स्थित सडक खण्डबाट खाद्यान्न र खुद्रा सामान लोड गरी वीरगंजबाट पोखरा र चितवन तर्फ जाँदै गरेको ना.३ ख ३७४, ना.३ ख ४८७७ नम्बरको मालवाहक ट्रकहरूमा चेकजाँच गर्दा विल विजक भन्दा बढी १७ लाख ७७ हजार १ सय ६० रुपैयाँ बढीको  सामान भेटिएपछि खाद्यान्न तथा खुद्रा सामान सहितको दुई वटै ट्रक थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको डिएसपी थापाले  बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button