अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच शिष्टाचार भेटवार्ता भएको छ । आज अर्थ मन्त्रालयमा भएको भेटघाटमा द्विपक्षीय आपसी हित र सहकार्यका विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
भेटमा अर्थमन्त्री पुनले चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह गर्नुभयो । त्यस्तै, लगानी प्रक्रियामा रहेका आयोजना शीघ्र अघि बढ्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
पछिल्ला दशकमा चीनले आर्थिक विकास र गरिबी निवारणका क्षेत्रमा गरेको काम विश्वकै लागि उदाहरणीय रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले चीनको अनुभव नेपालका लागि पनि सान्दर्भिक हुनसक्ने बताउनुभयो । नेपालको अर्थतन्त्रमा केही शिथिलता देखिएको र जनताको विकासको आकाङ्क्षा उच्च भएकाले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय निकायबाट नेपालले अतिरिक्त सहयोगको अपेक्षा राखेको पनि अर्थमन्त्री पुनले बताउनुभयो ।

चिनियाँ लगानीमा चक्रपथको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । जिलोङ–केरुङ–रसुवागढी–चिलिमे दुई सय २० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण पनि तत्काल अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत असोजमा भएको चीन भ्रमणका क्रममा ‘क्रस हिमालय रेलवे’ परियोजनालाई प्राथमिकताका साथ अघि बढाउने सहमति भएकामा चिनियाँ पक्षबाट भइरहेको सम्भाव्यता अध्ययनको प्रगतिबारे अर्थमन्त्री पुनले चासो व्यक्त गर्नुभयो । नेपाल र चीनबीच रेल मार्गसम्बन्धी परियोजनामा यसअघि नै सैद्धान्तिक सहमति भइसकेको छ । केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण जारी छ ।
आगामी वैशाखमा आयोजना हुन लागेको लगानी सम्मेलनका लागि चिनियाँ लगानीकर्तालाई निमन्त्रणा गरिसकिएको जानकारी दिनुहुँदै अर्थमन्त्री पुनले उक्त सम्मेलनमा बढीभन्दा बढी लगानीकर्ता आउन प्रेरित गरिदिन राजदूत छनमार्फत आग्रह गर्नुभयो । भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
जवाफमा राजदूत छनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति कार्यान्वयनमा जोड दिनुभयो । उहाँले नेपाल र चीनबीच लामो मित्रता तथा सहकार्य रहेको उल्लेख गर्नुहुँदै आगामी दिनमा आपसी समन्वय र सहकार्य थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
राजदूत छनले नेपालको लगानी सम्मेलन सफलताको शुभकामना दिनुहुँदै चिनियाँ व्यवसायीको लगानी सम्मेलनमा उत्साहजनक सहभागिता रहने प्रतिबद्धता जनाउनुभयो । चीनले नेपालको आर्थिक र सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी गराउनुहुँदै उहाँले कृषि, उद्योग र प्रविधिको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताउनुभयो ।
पोखरा र भैरहवा विमानस्थलमा चिनियाँ कम्पनीका जहाजले उडान गर्नेबारे छलफल चलिरहेको जानकारी पनि उहाँले अर्थमन्त्री पुन गराउनुभयो । त्यसका लागि हवाई रुटका साथै पोखरा-काठमाडौँ र भैरहवा-काठमाडौँ उडानको अनुमति चाहिने उल्लेख गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्