मुख्यमन्त्री जम्कट्टेलद्धारा मोटरेवल पुलको शिलान्यास
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मकवानपुरको मनहरिमा मोटरेवल पुल शिलान्यास गर्नुभएको छ ।

मनहरी गाउँपालिका वडा नम्बर ९ र ५ जोड्ने रजैया दरदरा २५६ मिटर लामो मोटरेवल पुलको मुख्यमन्त्री जम्कट्टेलले सोमबार एक कार्यक्रमबीच शिलान्यास गर्नुभएको हो ।

पुल निर्माणका लागि प्रदेश सकारले बजेट विनियोजन गरेपनि डिपिआर, निकुञ्ज लगाएतका समस्याका कारण काम अघि बढ्न सकेको थिएन । प्रदेश सरकार गठन भए लगत्तै निर्माणको योजना अघि बढाइए पनि लामो समयदेखि बन्न नसकेको यो पुल अब भने बन्ने भएको छ । पुल निर्माणपछि स्थानीयलाई ठुलो राहत पुग्ने उहाँले बताउनुभयो ।
प्रदेश सरकारका तर्फबाट पुल निर्माणका लागी बजेट सुनिश्चितता भएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताउनुभयो । नागरिकको गुनासो र दबाब तथा सरोकारवालको पहलका बिच प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा उक्त पुल निर्माणका लागि बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।
पूर्वाधार विकास कार्यालय चितवन मार्फत् कार्यान्वयन गरिएको उक्त पुल निर्माण योजनाका लागि २४ करोड ७ लाख ९१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । बिटी/आरएस जेभी निर्माण कम्पनीले ३ वर्ष भित्र पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको पूर्वाधार विकाश कार्यालय चितवनका प्रमुख विरेन्द्र चौधरीले बताउनुभयो ।
शिलान्यास कार्यक्रम बागमती प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, पूर्व स्वास्थ्य मन्त्री बिरोध खतिवडा, प्रदेश सांसद एकलाल श्रेष्ठ, संविधान सभा सदस्य राजाराम स्याङ्तान, मनहरी गाउँपालिकाका उपाध्यक्ष सिता पुलामी मगर, निबर्तमान गाउँपालिका अध्यक्ष एकराज उप्रेती, पुल सरोकार समितिका अध्यक्ष रामप्रसाद कालाखेती लगायत मनहरी गाउँपालिका जनप्रतिनिधि, कर्मचारी एवम् स्थानीयहरूको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्