गैरआवासीय नेपाली सङ्घको साधारणसभा सम्पन्न
काठमाडौँ । शेष घले संरक्षक रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को वार्षिक साधारणसभा काठमाडौँमा सम्पन्न भएको छ ।
वंशजको नागरिकताको निरन्तरता नै हाम्रो आवश्यकता भन्ने नारासहित सुरु भएको साधारण सभाको उद्घाटन संरक्षक डा.शेष घलेले गर्नु भएको थियो ।
घलेले नेपालको लागि अझै गैर आवासीय नेपालीले अझ धेरै गर्न बाँकी रहेको भन्दै त्यसका लागि सबै गैरआवासीय नेपालीहरू एकजुट हुनुपर्ने बताउनु भयो ।
सरकारले गैर आवासीय नेपालीहरूलाई नागरिकता प्रदान गरे पनि गैरआवासीय नागरिकताले केही अप्ठ्यारा फुकाउन नसकेको घलेले बताउनु भयो ।
संघका आइसिसी अध्यक्ष विनोद कुँवरले संस्थाको उद्देश्य पूरा गर्न विधिमा चलाउनु पर्ने बताउनु भयो । उहाँले १० औँ महाधिवेशनमा विधिलाई नमान्नेहरूका कारण सङ्घमा विवाद उत्पन्न भएको बताउनु भयो ।
साधारण सभाको क्रममा मनोरेलसहित तीनवटा महत्वपूर्ण सम्झौता भएको सङ्घले जनाएको छ ।
काठमाडौँको तारकेश्वर नगरपालिकामा मनोरेल स्थापना गर्ने, भूकम्पबाट क्षति भएको जाजरकोटको भेरी नगरपालिका र पश्चिम रुकुमको आठबीसकोट नगरपालिकाको पुनर्निर्माण गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
पर्यटक प्रवर्द्धनको लागि तारकेश्वर नगरपालिकामा मनोरेल स्थापना गर्ने सम्बन्धी सम्झौतामा नगर प्रमुख कृष्णहरि महर्जन र नेपाल मनोरेल कम्पनीको प्रमुख कार्यकारी अधिकृत सङ्गीता कार्कीले हस्ताक्षर गर्नु भएको छ ।
संघका अध्यक्ष विनोद कुँवर, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त र कोरियाका नागरिक जिहोङ सुनको रोहबरमा सम्झौताहरूमा हस्ताक्षर भएको हो ।
त्यसैगरी भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण सम्बन्धी सम्झौतामा सङ्घको तर्फबाट संरक्षक शेष घले,अध्यक्ष विनोद कुँवर र भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती र आठबीसकोट नगरपालिकाका प्रमुख रबि केसीले हस्ताक्षर गर्नु भएको छ ।
त्यस्तै, कोरियन कस्मेटिक (एनके) नेपालमै उत्पादनको लागि पनि सम्झौता भएको छ ।







प्रतिक्रिया राख्नुहोस्