‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरकारको पहिलो प्राथमिकतामा’

बीरगंज । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले सरकारले आगामी बजेटमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
उपप्रधान एवं स्वास्थ्य मन्त्री भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा पुग्नुभएका उपप्रधानमन्त्री यादवले महागढीमाई नगरपालिकामा आयोजित कार्यक्रममा बाराको विकासका लागि सङ्घीय र प्रदेश सरकार एक जुट भई अगाडी बढ्ने बताउनुभयो ।
जसपाका अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री यादवले कृषिसँगै बारा धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्नुहुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा गढीमाई मन्दिर चर्चित रहेको र प्रदेश सरकारले यहाँको पर्यटन प्रवद्र्धनका लागि काम गरिरहेको बताउनुभयो ।
उहाँले जितपुर सिमरा उपमहानगरपालिकाको क्षेत्रमा औद्योगिक कोरिडोर स्थापना अभियानमा संघीय सरकार लागेको जानकारी दिनुहुँदै कृषि र उद्योगको विकासका लागि विद्युतीकरणसँगै बारामा रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न सरकारले पहल गरिरहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्