‘मधेश प्रदेशको समृद्धिको आधार माछा र उखु’
जनकपुरधाम । नेपालमा वार्षिक रुपमा उत्पादन हुने १ लाख ७ हजार मेट्रिक टन माछा मध्ये ५० प्रतिशत भन्दा बढी माछा मधेश प्रदेशमा उत्पादन भएपनि माछामा अझै शत प्रतिशत वृद्धि गर्ने धेरै आधार भएको विज्ञहरूले बताउनुभएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई धनुषाले मधेश प्रदेश तथा कोशी प्रदेशका कृषि तथा मत्स्य अधिकृत तथा सहायक स्तरका कर्मचारीहरूका लागि “माछामा उन्नत प्रविधि सम्बन्धी क्षमता अभिवृद्धि” प्रशिक्षण कार्यक्रममा विज्ञहरूले मधेश प्रदेशको आर्थिक उन्नतिको लागि माछा तथा उखुको सम्भावना भएको बताउँदै माछाको उत्पादकत्व बढाउनका लागि अझै धेरै मेहनतको आवश्यकतामा जोड दिनुभयो ।
मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले विदेशमा माछा उत्पादनको क्षेत्रमा भएको प्रविधिको विकास गरेर अहिलेको परम्परागत माछा उत्पादनमा गुणात्मक वृद्धि गर्न सकिने सम्भावना भएको बताउनुभयो । उहाँले मधेश प्रदेशको समृद्धिको आधार माछा तथा उखु बन्ने भएकाले यस क्षेत्रको विकासका लागि मन्त्रालय चिन्तित भएको बताउनुभयो ।
तीन दिनसम्म भएको कार्यक्रममा मत्स्य मानव संसाधन विकास केन्द्रका प्रमुख मत्स्य विज्ञ रविलाल शर्मा र वरिष्ठ मत्स्य विकास अधिकृत एवं विज्ञ युगल किशोर तिवारी लगायतले माछा उत्पादनको उन्नत प्रविधिका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई धनुषाका प्रमुख ललन सिंहले माछाको उत्पादन बढाउनका लागि किसानहरूलाई उचित राय सुझाव, सल्लाह एवं प्रविधिका विषयमा जानकारी दिनका लागि अधिकृत तथा सहायक स्तरका कर्मचारीलाई दक्ष बनाउनमा कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।
कूल ३२ जनाको सहभागिता कार्यक्रममा परियोजनाका सूचना अधिकारी एवं अधिकृत राकेश कुमार यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा परियोजनाका अधिकृत प्रिया तिवारीले पनि बोल्नुभएको थियो । सहभागीहरूलाई सचिव डा. शरण कुमार पाण्डेले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्