तपाईँ सुन्दै हुनुहुन्छः

चैत अन्तिम साता हुने फेवा महोत्सवमा २० प्रतिशतसम्म छुट हुने

पोखरा । १९ औँ संस्करणको फेवा नव वर्ष महोत्सवको तयारी तीव्र पारिएको छ । यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म लेकसाइड स्थित स्ट्रिट नम्बर १ देखि हल्लन चोकसम्मको सडकमा आयोजना हुने महोत्सवको तयारी तीव्र पारिएको होटल संघ पोखरा नेपालले जनाएको छ ।

पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै नेपाली नयाँ वर्षको अवसरमा संघ अन्तर्गतका सदस्य होटेलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत सम्म छुटको घोषणा गरिएको महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।

यही चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अगाडि बढाइएको सन्दर्भमा पोखरामा धेरै भन्दा धेरै पर्यटक भित्राउन आफूहरूले उक्त छुटसहित केही प्याकेज कार्यक्रम ल्याउने उहाँले बताउनुभयो । पोखरालाई पर्यटनको राजधानी घोषणा पछि हुने महोत्सवले नयाँ वर्षमा पर्यटकलाई होटेलका कोठामा छुटको घोषणा गरिएको संयोजक सुवेदीले स्पष्ट पार्नुभयो ।

सङ्घले विगत दुई दशक अघि देखी नेपाली नयाँ वर्षको अवसरमा “पर्यटन, संस्कृति र खाना” भन्ने मूल नाराका साथ यो महोत्सव आयोजना गर्दै आइरहेको छ ।

महोत्सवका माध्यमबाट गण्डकी प्रदेशको जातीय भेषभुषा, रहनसहन, खानपान, सांस्कृतिक पक्षहरूको उजागर गर्दै प्राकृतिक सम्पदाहरूको संरक्षण गर्न समेत पहल गरिने संघका महासचिव एवं महोत्सवका प्रचार संयोजक राजेन्द्र ढकालले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button