तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभाको बैठक अवरुद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको आजको बैठकमा अवरोध गरेको छ ।

सभामुख देवराज घिमिरेले राजनीतिक दल सम्बन्धी विधेयक अगाडी बढाउने क्रममा आ–आफ्नो सिटबाट उठेर कांग्रेसका सांसदहरुले बैठक अवरुद्ध गर्नुभएको हो । 

बैठकमा नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र सांसद राजेन्द्र कुमार के.सीले गृहमन्त्रीमाथि सहकारी ठगीको आरोप लागेकाले त्यस विषयमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने माग गर्नुभयो ।

बैठकमा सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई समय दिनुअघि नै कांग्रेस सांसदहरु उठेर बैठक अवरुद्ध गर्नुभएको हो ।

बैठकमा सभामुख घिमिरेले बजेटका सिद्धान्त र प्राथमिकता तीन महिना अघि पास गर्नुपर्ने अवस्था रहेकाले अहिलेको आवश्यकता विशेष अवस्थालाई ध्यानमा राखेर संसद्प्रतिको उत्तरदायित्वबारे सभाको ध्यानाकर्षण गराउनुभएको थियो ।

सभामुख घिमिरेको आग्रहपछि पनि नेपाली कांग्रेसका सांसदहरु उठेर विरोध गरिरहेपछि सभा १५ मिनेटका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्ने र आर्थिक २०८१÷८२को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा –कर प्रस्ताव बाहेक) माथि छलफल गर्ने कार्यसूची रहेको छ । 

यसअघि, प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न विधेयक २०८०, टेबुल भएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था तथा परामर्श समितिमा सदस्यको नाम हेरफेर गरेको जानकारी गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button