एमाले बैतडीको नवनिर्वाचित कमिटीद्वारा पदभार ग्रहण

बैतडी । नेकपा (एमाले) बैतडीका नव निर्वाचित पदाधिकारीहरूको पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नरेश कुमार विश्वकर्माले एमालेलाई बैतडेली जनताको प्यारो पार्टी बनाउने आधारमा काम गर्ने बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा पार्टीलाई हालको भन्दा थप उचाइमा पुर्याउने आधारमा काम गरेर मिसन ८४ सफल पार्ने दाबी गर्नुभयो ।
सम्बोधनको सुरुवातमा अग्रज तथा स्वर्गीय नेताहरूको स्मरण गर्दै भावुक बनेका अध्यक्ष विकले हालको जिल्ला कमिटीमा सबै उमेरका व्यक्तिहरूको प्रतिनिधित्व रहेकाले पार्टी ३ तरेलीको बन्न पुगेको बताउनुभयो । उहाँले पार्टीमा युवा, वयस्क र ज्येष्ठ उमेरका व्यक्तिहरूको प्रतिनिधित्व रहेको बताउनुभयो ।
पार्टीका केन्द्रीय कमिटी सदस्य तथा पूर्व सांसद लिलाधर भट्टले भरखरै सम्पन्न अधिवेशनले सबैको प्रतिनिधित्व हुने जिल्ला कमिटी बनाएको बताउनुभयो । उहाँले अधिवेशनका क्रममा अध्यक्षका प्रत्याशीको रुपमा रहेका ७जनामध्ये ४जना पदाधिकारी भित्रै अटाउनु अत्यन्त सुखद पक्ष रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“अहिले बनेको जिल्ला कमिटीमा अनुभवी, इमान्दार र क्षमतावान् नेताहरू आएका छन्, नाम र योग्यताले निकै राम्रा छन् तर कामले राम्रो भएको देख्न पाइन्छ की पाइदैन् त्यो हेर्न बाँकी छ । तर पार्टीमा पद ओगटेर काम नगर्ने छुट कसैलाई हुनेछैन् ।”
बिहीबार भएको पदभार ग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नरेश विक, उपाध्यक्ष लोकेन्द्र भण्डारी, उपसचिव पार्वती भट्ट सहित सदस्यहरु उपस्थित हुनुहुन्थ्यो । पदभार ग्रहण कार्यक्रममा सचिव हजारी साउद र उपसचिव हर्क धानुक अनुपस्थित हुनुभयो । आगामी बैठकहरूमा सबैलाई अनिवार्य उपस्थित हुन अध्यक्ष विकले निर्देशन दिनुभएको छ । उहाँले तीन बैठकमा सहभागी नहुने व्यक्तिलाई विधान अनुसार पदबाट बर्खास्त गरिने चेतावनी दिनुभयो । उनले आफु जति इमान्दार त्यत्ति नै कठोर समेत रहेको बताउनुभयो । उहाँले सबै कार्यकर्ताहरूलाई कम्युनिष्ट आचरणमा बस्न निर्देशन दिनुभएको छ ।
पार्टीका केन्द्रीय सदस्य भट्टले नवनिर्वाचित कमिटीमा दलित महिला र सबै उमेरका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता रहेको बताउनुभयो । नेकपा (एमाले)को नवौँ जिल्ला अधिवेशन मङ्गलवार पाटनमा सम्पन्न भएको थियो । अधिवेशनले ९०जनाको जिल्ला कमिटी सर्वसम्मत चयन गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्