तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक व्यक्ति नै भ्रष्टाचारमा मुछिने विकृति बढ्यो : अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक व्यक्ति नै भ्रष्टाचार र अनियमिततामा मुछिने विकृति बढेको उल्लेख गर्दै यसले जनतामा निराशा बढेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, “जसरी पनि चुनाव जित्नुपर्ने र सरकारमा सामेल भएर खर्च उठाउने प्रवृत्ति बढ्यो । यो संसदीय व्यवस्थाको नकारात्मक प्रवृत्ति हो । यसबाट अधिकांश नेता कार्यकर्ताहरू सिकार भएका छन् ।”

अध्यक्ष केसीले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सुन तस्करी र अनुचित लेनदेनमा मुछिएका प्रभावशाली व्यक्तिलाई सरकारले कारबाही नगरेकोमा गुनासो गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन नसक्ने पनि स्पष्ट पार्नुभयो । 

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शैक्षिक परामर्शका नाममा ठगी गर्ने, मानव बेचबिखन तथा मानवअधिकार हनन गर्ने, सार्वजनिक जग्गा हड्पने, सुन तस्करी संलग्न जोसुकै भएपनि कारबाही गर्न माग गर्नुभयो । 

उहाँले चुरे दोहन रोक्नुपर्ने बताउँदै खेतीपातीका लागि आवश्यक जग्गा राखेर मात्र सहरको विकास गर्नुपर्नेमा जोड दिनुभयो । साथै सङ्घीय राजधानी दाङमा सार्नुपर्ने सुझाव दिनुभयो । 

उहाँले पनि प्रधानमन्त्री दाहाललाई मत दिन नसकिने पनि जानकारी गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button