तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले जनआकांक्षा पूरा गर्ने गरी काम गर्नुपर्छ : सांसद यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नयाँ गठबन्धन सरकारले मुलुक र जनताको आकांक्षा पूरा गर्ने गरी काममा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उहाँले सरकारको कार्यकाल मुलुक र राष्ट्रका लागि फलदायी होस् भनी कामना पनि गर्नुभयो । 

सांसद यादवले नेपाल र नेपालीको भाग्य र भविष्य निर्माण गर्ने थलो संसद्को भूमिकालाई थप जिम्मेवार र प्रभावकारी बनाएर लैजानुपर्ने खाँचो औँल्याउनुभयो । अहिले नेता र नेतृत्वमाथि जनताको विश्वासको खडेरी भइरहेको भन्दै उहाँले अहिलेको परिस्थितिलाई ध्यानमा राखेर सहमति र सहकार्यका साथ अघि बढ्न अनुरोध गर्नुभयो ।

“सहयात्री फेरिएको छ । तर, प्रधानमन्त्री विश्वासको मत पाइरहनुभएको छ । यो बढो रोचक भइरहेको छ । अहिलेको परिस्थिति र जनताको आकांक्षालाई केन्द्रमा राखेर सहमति र सहकार्यका साथ अघि बढ्न आग्रह गर्दछु”, सांसद यादवले भन्नुभयो ।

सांसद यादवले पार्टीका तर्फबाट विश्वासको मतमा समर्थन जनाउँदै सहमति अनुरुप मधेसका मुद्दालाई प्राथमिकता दिन पनि प्रधानमन्त्री समक्ष आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button