बागमती प्रदेश : बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिले बुझायो प्रतिवेदन
मकवानपुर । बागमती प्रदेशको बजेटसम्बन्धी विवाद समाधानका लागि गठित संसदीय विशेष समितिले प्रतिवेदन बुझाएको छ । समितिले विभिन्न सुझावसहित तयार पारेको प्रतिवेदन मङ्गलवार दिउँसो प्रदेशसभाका सभामुख भुवनकुमार पाठक समक्ष पेस गरेको हो ।

बागमती प्रदेशमा चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्दा सत्तापक्ष र प्रतिपक्षबिच भएको सहमति कार्यान्वयनका विषयमा विवाद हुँदा प्रदेशसभा बैठक नै प्रभावित बनेपछि गत फागुन १७ गते बसेको सर्वदलीय बैठकले फागुन २९ गतेको समयसिमा दिएर कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्सालको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति गठन गरेको थियो ।
उक्त समितिलाई प्रदेशसभा बैठकमा पेस गर्ने गरी सत्तापक्ष र विपक्ष दलहरू बिचको सहमतिका सन्दर्भमा आवश्यक अध्ययन गरी प्रतिवेदन पेस गर्न भनिएको थियो । सोही अनुसार उक्त समितिले विभिन्न चरणमा बैठक तथा छलफल गरी प्रतिवेदन तयार गरेको हो । समितिले उक्त प्रतिवेदनमार्फत बजेट कार्यक्रमका विषयमा सत्तापक्ष र प्रतिपक्ष दहहरूबिच भएको सहमति अनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको योजनामा बजेट विनियोजन गरेर कार्यान्वयन गर्न सुझाव दिएको छ ।
प्रतिवेदन सभामुख पाठक समक्ष पेश गरेलगत्तै पत्रकारहरूसँग प्रतिक्रिया दिँदै समितिका संयोजक लम्सालले संसदीय समितिले दिएको निर्देशन सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
समितिका सदस्य समेत रहनुभएका नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले सार्वभौम संसद्ले गरेका निर्णयका विषयमा कुनै पनि अदालतमा मुद्दा मामिला नहुने भएकाले संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन गर्न सरकारलाई असहज नहुने प्रतिक्रिया दिनुभयो । सभामुख पाठकलाई पेस गरिएको उक्त प्रतिवेदन आजै बस्ने प्रदेशसभा बैठकमा पेस हुनेछ भने संसदमा छलफल भई पारित गर्ने कार्यसूची रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्