ठेकेदारलाई भुक्तानी नहुँदा खजुरा पुल निर्माणको काम ठप्प

नवलपरासी,पश्चिम् । करिब १० करोडको लागतमा निर्माणाधीन नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ र १६ जोड्ने खजुरा खोलाको पुलको काम रकम अभावमा बन्द भएको छ । लामो समयसम्म सरकारले ठेकेदार कम्पनीलाई भुक्तानी नदिएपछि अन्ततः पुल निर्माणको काम ठप्प बनेको हो ।
निर्माण व्यवसायीले अहिलेसम्म काम गरेबापतको पाउनुपर्ने १ करोड १० लाखमध्ये नेपाल सरकारले १६ लाख मात्र भुक्तानी दिएको छ । पाउनु पर्ने बाँकी रकम नपाएको भन्दै निर्माण व्यवसायीले काम नगर्ने जनाएपछि सबै ठाउँमा जानकारी गराएर काम बन्द गरेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो । ‘रकम भुक्तानीका लागि केही महिना अघि नै अर्थ मन्त्रालयमा सिफारिस गरेर पठाएका थियौँ । अहिलेसम्म नआएपछि काम गर्दिन भनेर व्यवसायी गएपछि बन्द भएको छ । ’ नगर प्रमुख श्रेष्ठले भन्नुभयो । सरकार परिवर्तनसँगै अर्थमन्त्री फेरिएकाले चैतभित्र फेरि मन्त्रालय गएर रकमको माग गर्ने र रकम आएपछि काम सुरु हुने श्रेष्ठले बताउनु भयो । ‘यो पुलका लागि हामी कयौँ पटक काठमाडौँ गयौँ,सम्बन्धित निकायलाई घचघच्याएर बल्ल तल्ल काम सुरु भएको थियो अहिले फेरी रकम निकासा भएन । यद्यपि ताकेता गरिरहेका छौँ’,श्रेष्ठले भन्नुभयो पुल निर्माणको काम झन्डै १० प्रतिशतको हाराहारीमा मात्र सकिएको छ ।
वर्षायाममा खोला तर्न कठिन हुँदा बर्दघाटसँगै छिमेकीपालिकाहरु सुस्ता र प्रतापपुर गाउँपालिकाका स्थानीयहरू लामो दुरी भएर आवतजावत गर्नुपर्ने बाध्यतालाई हटाउन खोलामा पुल निर्माणको योजना परेको थियो ।
बहुवर्षीय योजनाका रुपमा रहेको पुल निर्माणको शिलान्यास नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद विनोद चौधरीले शिलान्यास गर्नु भएको थियो।
सम्झौतापछिको लामो समयसम्म निर्माण कम्पनीले काम अधुरो बनाएर छाडेपछि नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासनले प्रहरीमार्फत निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएर काम सुरु गराएको थियो । २०७७ सालमा श्रीमती सञ्जीवनी निर्माण सेवाले ९ करोड ७७ लाखमा पुल निर्माणको सम्झौता गरेको हो । नेपालमा शिलान्यास भएर थुप्रै आयोजनाहरू अधुरै रहने परिपाटीले यहाँका नागरिकले पुल बन्नेमा समेत आशङ्का व्यक्त गरिरहेका छन् ।






प्रतिक्रिया राख्नुहोस्