तपाईँ सुन्दै हुनुहुन्छः

उपप्रधानमन्त्री यादवद्वारा पद बहाली

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथपछि मन्त्रालय पुगी पद बहाली गर्नुभएको छ । 

उहाँले पद बहाली गर्दै सङ्घीय तथा प्रादेशिक अस्पतालहरूमा शल्यक्रियामा देखिएको ढिलाइलाई छिटो छरितो व्यवस्था मिलाउने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो । उहाँले स्वास्थ्य उपचारका लागि लामो समय लाइनमा बस्नुपर्ने सास्ती कम गराउन डिजिटल प्रविधिलाई अझ बढी प्रभावकारी बनाउने समेत निर्णय गर्नुभयो । 

“बिरामीहरू लामो लाइन बसेर उपचार सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ । यसलाई सहज बनाउँदै बिरामीले समयमै उपचार सेवा पाउने गरी अनलाइन एवं डिजिटल प्रविधिमार्फत घरैबाट पनि समय लिने व्यवस्था मिलाउने छौँ”, उहाँले भन्नुभयो, “गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै सरकारी स्वास्थ्य संस्थाको क्षमता वृद्धि र विकास गर्नेछौँ ।”  

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष यादव गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । उहाँ विस २०७५ मा पनि उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हुनुभएको थियो । 

विस २०३२ सालमा वामपन्थी विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएका यादव नेपाल कम्युनिष्ट पार्टीको सदस्य हुँदै राजनीतिमा सक्रिय हुनुभएको हो । उहाँ विस २०४८ सालदेखि नेकपा (एमाले)मा आबद्ध हुनुभयो । विस २०६३ सालदेखि मधेसी जनअधिकार फोरम, नेपालको गठन गरी अध्यक्षको भूमिका निर्वाह गर्नुभयो । उहाँ हाल जसपा नेपालको अध्यक्ष हुनुहुन्छ । विस २०६४ को संविधानसभा निर्वाचनमामा सुनसरी–५ र मोरङ–५ बाट र विस २०७० मा सुनसरी–५ बाट निर्वाचित हुनुभएको थियो । उहाँ विस २०७४ मा सप्तरी–२ बाट निर्वाचित हुनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button