तपाईँ सुन्दै हुनुहुन्छः

बाहिनीपति कपको उपाधि नम्बर ४ गण सुनसरीलाई

सुनसरी । सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयको आयोजनामा सुनसरीको पकलीमा सम्पन्न भएको बाहिनीपति कप प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीले चुमेको छ ।

सशस्त्र प्रहरी सङ्गठनको पेशागत गतिविधि अन्तर्गत बाहिनीपति कप प्रतियोगिता सम्पन्न गरेकोमा सुनसरीले उपाधि चुमेको हो ।

प्रतियोगितामा फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन र टेबल टेनिस गरी ५ वटा खेलका विधाहरू समावेश गरिएको थियो ।

प्रतियोगितामा वाहिनी मातहत गण र गुल्महरूबाट विभिन्न ५ विधाका खेलहरूमा १२० जनाभन्दा बढी खेलाडी सशस्त्र प्रहरी कर्मचारीहरूले प्रतिस्पर्धा गरेका थिए । त्यसमा ६ स्वर्ण, ६ रजत र २ कास्य गरी १४ वटा पदकहरू वितरण गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ३ स्वर्ण र १ रजत पदक गरी ४ वटा पदकहरू जित्दै सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरीले ‘बाहिनीपति कप–२०८०’ को ट्रफी उचाल्न सफल भएको जनाएको छ ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपाल नं. ३७ रिजर्भ गण हे. क्वा.पकली, सुनसरी दोस्रो र सशस्त्र प्रहरी बल, नेपाल नं.६ गण हे.क्वा. त्रियुगा उदयपुरले तेस्रो स्थान हासिल गर्न सफल भएको आयोजकले जनाएको छ ।

त्यसैगरि खेलगत विधामा फुटबल, भलिबल र टेवलटेनिसतर्फ सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे. क्वा. सुनसरी र ब्याडमिन्टनतर्फ सशस्त्र प्रहरी बल, नेपाल नं. ३७ रिजर्भ गण हे. क्वा. पकली, सुनसरी प्रथम भएको छ । एथ्लेटिक्स अन्तर्गत व्यक्तिगत स्पर्धामा पुरुषतर्फको १०० मिटर दौडमा सशस्त्र प्रहरी बल, नेपाल नं. ३७ रिजर्भ गण हे. क्वा. पकली, सुनसरी र महिलातर्फ सशस्त्र प्रहरी बल, नेपाल नं. ३८ रिजर्भ गण हे. क्वा. झापाले प्रथम स्थान हासिल गरेको जनाएको छ ।

विभिन्न खेलहरूमा सर्वोत्कृष्ट हुने खेलाडीहरूलाई ट्रफी, मेडल, प्रमाण–पत्र र खेलका निर्णायक एवम् टिमका व्यवस्थापकहरूलाई प्रशंसा–पत्र प्रदान गरिएको छ । कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले बाहिनीपति कपको ट्रफी सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा.सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यलाई हस्तान्तरण गर्नुभयो ।

उहाँले पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै खेलकुद प्रतियोगिताले सशस्त्र प्रहरी कर्मचारीहरूमा अझ अनुशासन र गतिशीलता ल्याउने, सम्भावना बोकेका नयाँ खेलाडीहरूको पहिचान गर्न सकिने बताउनुभयो ।

उहाँले खेलकुदको माध्यमबाट राज्यलाई योगदान दिन सकिने, सशस्त्र प्रहरी कर्मचारीहरूमा आपसी बन्धुत्वको विकास भई कार्यक्षेत्रमा खटिन आत्मबलमा अभिवृद्धि हुने र निकट भविष्यमा आयोजना हुन गइरहेको ‘आइजिपी कप’ को लागि समेत खेलाडीहरूको छनौट गर्न सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button