तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक : अन्य दललाई पनि सरकारमा आउन आह्वान

२०८१ वैशाखमा महाधिवेशन प्रतिनिधि परिषद बैठक

ललितपुर । नेकपा एमालेले आगामी बैशाखमा महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ ।
पार्टी कार्यालय च्यासलमा आज बिहान बसेको नेकपा एमालेको सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकपछि एमाले महासचिव शंकर पोखरेलले आगामी वैशाख १० गते पार्टीको ७५ औँ स्थापना दिवसको विशेष समारोह आयोजना गर्ने निर्णय गर्दै वैशाख ८ र ९ गतेका लागि महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको जानकारी गराउनुभयो ।
बैठकमा, मुलुकको सत्ता समीकरणमा आएको परिवर्तनका सन्दर्भमा छलफल भएको र नयाँ सत्ता समिकरणलाई पार्टीले सकारात्मक रूपमा ग्रहण गरेको बताउनुभयो ।
मुलुकमा सिर्जना भएको संकटलाई सकारात्मक दिशामा अगाडि बढाउन, जनतामा आशा र विश्वास जगाउन, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पु¥याउने हिसाबले सकारात्मक योगदान गर्नुपर्दछ भन्ने निष्कर्षमा बैठक पुगेको महासचिव पोखरेलले बताउनुभयो ।
महासचिव पोखरेलले जनताको निराशालाई आशमा बदलेर विकास र समृद्धिका कामलाई तीव्रता दिन नयाँ सहकार्य फलदायी बनाउनु पर्ने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारलाई समर्थन गर्न अन्य राजनीतिक दलहरूलाई पनि अनुरोध गरेको जानकारी दिनुभयो ।
राजनीतिक दलहरु एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी सामेल भएर सरकार निर्माण गर्ने प्रक्रियामा अगाडि बढेको र यसका माध्यमबाट देशमा उत्पन्न निराशालाई चिर्ने र देशभित्रै केही हुन सक्छ भन्ने सकारातमक भावनाको विकास गर्ने प्रयासतर्फ नयाँ सरकार अगाडि बढ्ने बैठकको निश्कर्ष रहेको महासचिव पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button