तपाईँ सुन्दै हुनुहुन्छः

ताराखोलाका महिलाहरुद्धारा दुग्धजन्य परिकारको उत्पादन सुरु

बागलुङ । बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलाका महिलाहरूले दूध प्रशोधन गरेर परिकार बनाउन थालेका छन् ।

ताराखोले मिठाई उत्पादन लघु उद्यमी समूहबाट करिमेलाका १७ जना महिलाहरूले सामूहिक रुपमा दूध प्रशोधन गरेर पनिर, लड्डु, बर्फी, पुष्टकारी, गुदपाक, टोफी, छुर्पी, चकलेट, रसबरी, लालमोहन, खजुरी बिस्कुट, दही लगायतका परिकार बनाउन थालेका हुन् ।

गाउँमा उत्पादन हुने दूध सङ्कलन र प्रशोधन गरेर स्थानीय बजारमा आवश्यक पर्ने दुग्धजन्य परिकार उत्पादन गर्न थालेको महिला उद्यमी लालमती रोका मगरले जानकारी दिनुभयो । परिकार बनाउन थालेपछि दूधले बजार नपाउँदा आम्दानीको अवसरबाट बञ्चित भएका कृषकलाई राहत मिलेको उहाँले बताउनुभयो ।

ताराखोला गाउँपालिकाले लघु उद्यम विकास कार्यक्रम मार्फत सिपमूलक तालिम दिएपछि महिलाहरूले दुग्धजन्य वस्तु उत्पादन गर्न थालेका हुन् । दूध प्रशोधन र सामग्री बनाउन तालिमका साथै रु. १ लाख मूल्य बराबरको उपकरण सहयोग गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button