तपाईँ सुन्दै हुनुहुन्छः

अब काममा ढिलाइ हुने छैन : नवनियुक्त उपप्रधानमन्त्री महासेठ

काठमाडौँ । नवनियुक्त उपप्रधान मन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले अब कुनै पनि हालतमा काममा ढिलाइ नहुने बताउनुभएको छ । 

सिंहदरबारस्थित कार्यालयमा आज पद बहाली गर्दै उपप्रधानमन्त्री महासेठले देशभरका भौतिक पूर्वाधार निर्माणको काममा भइरहेको ढिलासुस्ती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले ढिलासुस्तीका कारण र त्यसको समाधानसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिनुभयो । मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको छ ।    

“विकास निर्माणका सबै काम १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल बनाएको छु । काममा किन ढिलाइ भयो, यसअघि भएका कमीकमजोरी र यो काम गर्न योजनासहित अब के गर्नुपर्छ भन्नेबारे कार्यदलले अध्ययन गर्नेछ”, उपप्रधानमन्त्री महासेठले भन्नुभयो, “अब काममा ढिलाइ हुने छैन ।” 

उपप्रधानमन्त्री महासेठको राजनीतिक यात्रा 
उपप्रधानमन्त्री महासेठ नेकपा (एमाले) बाट धनुषा निर्वाचन क्षेत्र नं ४ बाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसक्नुभएको छ । लामो समयदेखि राजनीतिमा सक्रिय रहनुभएका उहाँले यसअघि तीन पटक सङ्घीय सरकारमा मन्त्रीको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । 

उपप्रधानमन्त्री महासेठ २०३७ सालमा अनेरास्ववियुको पूर्वाञ्चल क्षेत्रको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ २०५४ सालदेखि एमालेको केन्द्रीय कमिटी सदस्य तथा पछि स्थायी कमिटी सदस्य रहनुभयो । राजनीतिक आन्दोलनका क्रममा उहाँले पटक पटक गरी १३ महिना जेल जीवन बिताउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button