प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई
जनकपुरधाम । प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।
मधेश प्रदेशको धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रमामा भएको प्रतियोगिताको आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबले आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई २ का विरुद्धमा ४ गोल गर्दै उपाधि जितेको हो ।

विजयी त्रिभुवन आर्मी क्लबले १ लाख ५० हजार नगदसहित कप तथा प्रमाणपत्र पाएको छ भने उपविजेता टिम मदन भण्डारी स्पोर्टस एकेडेमीले १ लाख नगदसहित शिल्ड तथा तेस्रो भएको सुदूर पश्चिम टिमले ५० हजार नगद प्राप्त गरे ।
विजयी भएका टिमलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नगदसहित शिल्ड एवं प्रमाणपत्र वितरण गर्नुभयो । त्यस अवसरमा उपाध्यक्ष पौडेलले खेलकुद मार्फत देश तथा विदेशमा नेपालको गरिमा बढ्ने भएकाले राज्यले खेलकुदको विकासका लागि थप लगानी गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगितामा कर्णाली बाहेक ६ वटा प्रदेश, आयोजक तथा त्रिभुवन आर्मी क्लब गरी कूल ८ वटा राष्ट्रिय स्तरको टिमका करिब १ सय ५० महिला खेलाडीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगिता फागुन १४ गते शुरु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्