जुम्लामा एक करोड लगानीमा ‘होम पाइप’ उत्पादन उद्योग सञ्चालन

जुम्ला । जुम्लामा होम पाइप उत्पादन उद्योग सञ्चालन गरिएको छ । निर्माण व्यवसायीको मागलाई मध्यनजर गर्दै एक करोड बढीको लगानीमा उद्योग सञ्चालन गरिएको हो । निर्माण सामाग्री उत्पादन गर्ने उद्योग नहुँदा अर्बाै बजेट बाहिरिने,निर्माण सामाग्री महँगो पर्ने, समयमै उपलब्ध नहुने,निर्माण कार्यमा ढिलाई हुने, खरिद भन्दा ढुवानीमा दोब्बर खर्च लाग्ने जस्ता समस्या र निर्माण व्यवसायीको मागलाई ध्यानमा राख्दै साविक कर्णालीमै पहिलो ‘होम पाइप’ उत्पादन उद्योग जुम्लामा सञ्चालन गरिएको छ ।
तातोपानी गाउँपालिका वडा नं.६ स्थित हियाखोला कर्णाली राजमार्गको छेउमा ’खड्का होप पाइप’ उद्योग स्थापना गरी सञ्चालन गरिएको हो । यस उद्योगले कर्णालीको विकास निर्माणलाई गति दिन मदत मात्र गर्ने छैन । निर्माण सामाग्रीमा बढ्दो परनिर्भरता अन्त्य,स्थानीय स्रोत साधनको सदुपयोग,आन्तरिक राजश्व वृद्धि र रोजगारी सृजनामा समेत उद्योगले टेवा पुर्याउने उद्योगका सञ्चालक रामदेवी खड्काले बताउनुभयो ।

निर्माण सामाग्री खरिदका नाममा जुम्लाको बजेट बाहिर नपठाउँ,रोजगारी सृजना गरौँ र स्थानीय स्रोत गिट्टी बालुवाको सदुपयोग हुनेगरी एक करोड बढीको लगानीमा उद्योग सञ्चालन गरिएको उहाँको भनाई छ ।
‘जुम्ला सहित कर्णालीमा होमपाईपको माग बढ्दो छ’, उहाँले भन्नुभयो,‘भौगोलिक रूपले विकट कर्णालीमा साना खोला नाला धेरै छन् । जहाँ होम पाइपकै प्रयोगले सडक सुचारु हुन्छन् । तर होमपाईप बाहिरबाट ल्याउनु पर्दा महँगो पर्नेदेखि निर्माणमा ढिलाई हुने भएकोले जुम्लामै होमपाईप उत्पादन थालेका छौ । सुर्खेत,नेपालगन्ज भन्दा सस्तो मूल्यमा दिनेछौ । यसले निर्माण व्यवसायीलाई राहत हुने अपेक्षा छ ।’
यसैबीच, साविक कर्णालीको पहिलो होम पाइप उद्योगको शनिवार कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण बहादुर बिसीले उद्घाटन गर्नुभयो । मन्त्री बिसीले जुम्लामै खोलिएको उद्योगले कर्णालीको मागलाई पूर्ति गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,‘उद्योग सञ्चालनपछि होम पाइप खरिदका लागि बाहिरिने करोडौँ बजेट जिल्लामै रोकिने छ । युवाले रोजगारी पाउने छन् । जिल्लामै सस्तोमा निर्माण सामाग्री पाउँदा व्यवसायी राहत हुने छ ।’

स्थानीय गिट्टी, बालुवाको सदुपयोग हुनुका साथै राजश्व पनि वृद्धि हुने भएकोले दुर्गममा स्थापना यस्ता उद्योगको निरन्तरता र प्रर्बद्धनमा जोड दिनुपर्ने मन्त्री बिसीको भनाई छ ।
साथै जुम्लामा सञ्चालन गरिएको होप पाइप उत्पादन उद्योगले २० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । उद्योगमा ७ जना भारतीय दक्ष कामदार आएका छन् । जसले पाइपको डिजाइन देखि कति सिमेन्ट,कति बालुवा गिटि हाल्नेबारे स्टमेट गर्छन् ।
स्थानीय ८ जनाले रोजगारी पाएका छन् । स्थानीय कामदारले सिमेन्ट,बालुवा मिसाउने,मेसिन सञ्चालनमा सघाउने,लगायतका काम गर्छन् । ४/५ जना सवारी चालक छन् । कच्चा पर्दाथ ओपारपोसार तथा अर्डर आएका ठाउँमा पुराउन गाडी तयारी अवस्थामा राखिने छ ।
अप्रत्यक्ष ज्यालादारी,अन्य कामबाट थुप्रैले रोजगारी पाएपनि तत्कालन प्रत्यक्ष रुपमा २० जनाले रोजगार पाएको उद्योग सञ्चालन खड्काले उल्लेख गर्नुभयो । जुम्ला मात्र नभई दैलेख,कालिकोट,मुगु र डोल्पा लगायतका जिल्लामा समेत होम पाइप पुर्याइने छ । भने उद्योग सञ्चालनले जुम्लामा खेर गइरहेकोले गिट्टी बालुवाले समेत उचित मूल्य पाउने र स्थानीयतहको राजश्वमा समेत वृद्धि हुने छ ।
निर्माण सामाग्रीको खरिद भन्दा ढुवानी मूल्य बढी तिर्नुपर्ने बाध्यताले कर्णालीका निर्माण व्यवसायी चरम मारमा रहेकोले जुम्लामै सस्तोमा उपलब्ध गराइने छ । यद्यपि, कुन साइजको कति मूल्य पर्छ भन्ने तोकिएको छैन । गिट्टी बालुवा, सिमेन्ट,कामदारको ज्याला सबैको जोडेर मूल्य तोकिने छ । तर बाहिरको भन्दा निकै सस्तो पर्ने उद्योगको दाबी छ । माग बढ्दो क्रममा रहेकोले बजारको समस्या नहुने सञ्चालक खड्काको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्