प्रदेश सरकारलाई ३० थान ब्रेथलाइजर मेसिन प्रदान

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारणले दुर्घटनामा वृद्धि भएपछि विश्व स्वास्थ्य सङ्गठनले त्यसमा कमी ल्याउन लागि प्रदेश सरकारलाई ३० थान ब्रेथलाइजर मेसिन प्रदान गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा.केदार खड्काले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई आज जनकपुरधाममा आयोजना गरिएको कार्यक्रममा ३० थान ब्रेथलाइजर मेसिन हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री यादवले प्राप्त भएको ब्रेथलाइजर मेसिनहरू मधेश प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायव प्रहरी महानिरीक्षक यज्ञ विनोख पोखरेललाई हस्तान्तरण गर्नुभयो ।
सडक सुरक्षाका लागि सो ब्रेथलाइजर मेसिन आवश्यकताका आधारमा मधेश प्रदेशको ८ वटा जिल्लाहरूमा चेक प्वाइन्ट तोकेर हस्तान्तरण गर्ने प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

मुख्यमन्त्री यादवले प्रहरीलाई प्रदेशमा शान्ति सुरक्षा तथा सडक सुरक्षाका लागि आवश्यक पर्ने सबै प्रकारको साधन श्रोत उपलब्ध गराउनका लागि तयार भएको बताउनुभयो ।
उहाँले ट्राफिक प्रहरीले मान्छेको जीवन रक्षाका लागि चेकजाँच गर्नुका साटो बढी राजश्व सङ्कलन गर्नका लागि चेकजाँच गरेको पाइएकाले यसले आम जनता निक्कै पीडित हुनुपरेको भन्नुहुँदै चेक जाँच राजश्व सङ्कलनको उद्देश्यले गर्न नहुने बताउनुभयो ।
उहाँले मधेशका जनतालाई सवारी चालक अनुमतिपत्र पाउनमा कुनै कठिनाइ नहोस् भन्नका लागि प्रदेशका ८ वटै जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना गरेर चालक अनुमतिपत्र पाउने योग्यता तथा क्षमता भएकालाई दिनुपर्ने पक्षमा प्रदेश सरकार रहेको भन्नुहुँदै यसका लागि ट्रायल सेन्टरहरूमा सेन्सर जडान गर्ने गरि सरकार अगाडी बढेको बताउनुभयो ।

मुख्यमन्त्री यादवले आफू मुख्यमन्त्री भएपनि प्रदेशमा शान्ति सुरक्षासँग सम्बन्धित कतिपय विषयहरूमा जानकारी नहुने गरेको उल्लेख गर्नुहुँदै प्रहरीले आफूहरूसँग समन्वय नगरेको गुनासो गर्नुभयो ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री मोहम्मद समिमले मधेश प्रदेशमा रहेको बढ्दो सवारी दुर्घटनालाई न्यून गर्नका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्नका लागि तयार भएको बताउनुभयो । उहाँले विश्व स्वास्थ्य सङ्गठनले प्रदान गरेको ब्रेथलाइजर मेसिनबाट दुर्घटना न्यून गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मधेश प्रदेशका जिल्लाहरूमा चालु आर्थिक वर्षको हालसम्म भएको सडक दुर्घटनामा परेर २ सय ५५ जनाको मृत्यु भएको छ भने गत आर्थिक वर्षमा ५ सय ४६ जनाको मृत्यु भएको थियो ।
चालु आर्थिक वर्षमा ५ हजार ७४ सवारी दुर्घटनामा परेर घाइते भएका छन् । गत वर्ष ९ हजार ६ सय ७२ जना घाइते भएका थिए ।






प्रतिक्रिया राख्नुहोस्